सहकारी अर्थात सहकार्य । हरेक क्षेत्रमा सहकार्य र सहअस्तित्वको अपेक्षासाथ सहकारीको अवधारणाको विकास भएको छ । सहकारी कुनै एक पक्ष विशेषको विषय होइन । यो त हरेक क्षेत्र र विषयमा आवश्यक अवधारणाको रुपमा विकसित भएको हो । नेपाली समाजमा आर्थिक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहकारीको अवधारणाको अभ्यास भइरहेको छ । सहकारीको अवधारणा आवश्यक भए पनि यसको अपेक्षित व्यापकता सम्भव हुन सकेको छैन । आज जुलाई ८ तारेख अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटासँग समाज संवाददाता रामनाथ कुँवरले गर्नुभएको कुराकानीः
समाजः मकवानपुरमा सहकारीमार्फत के—कस्ता गतिविधिहरु भैरहेका छन् ?
देवकोटाः मकवानपुर जिल्लामा सहकारी अभियान मार्फत अहिले बचत तथा ऋण सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबारहरु गरिरहेको छ । त्यसरी कारोबार गरिरहँदा बचत तथा ऋणहरुले कृषिमा र विभिन्न व्यवसायहरुमा लगानी गरेका छन् । कृषि सहकारीहरुले उत्पादित वस्तु बजारीकरणको लागि संयोजन गरिरहेको छ । त्यस्तै दुग्ध सहकारी संघहरुले किसानहरुका उत्पादित दुध संकलन गरेर जिल्ला दुग्ध सहकारीसँग समन्वय गरेर बजारीकरण गरिरहेको छ । त्यसैगरी बहुउद्देश्य सहकारी संस्थाहरुले निक्षेप संकलन गर्ने, ऋण लगानी गर्ने र बजारीकरण पनि गर्ने काम गरिरहेको छ । सहकारीहरुको छाता संगठनको रुपमा रहेको जिल्ला सहकारी संघले जिल्लाभरीका सहकारी संघहरुमा परेको समस्याहरुको पहिचान गरेर समाधान गर्ने काम गरेको छ । त्यस्तै यो कोरोनाको कारण लकडाउनको समयमा जिल्ला सहकारी संघले जिल्लाको गाउँगाउँमा उत्पादन भएका तरकारीलाई विषयगत सहकारीहरुको समन्वयमा बजारीकरण गरेको छ । त्यसले बजारमा मुल्यको स्थिरता कायम गर्न प्रभावकारी बन्यो ।
समाजः सहकारीको अवधारणालाई आत्मसाथ गरेर समाजमा के—कस्ता उपलब्धीहरु भएका छन् ?
देवकोटाः सहकारी संस्था मार्फत ऋण प्रवाह गरेर अहिले किसानहरुले कुखुरापालन, पशुपालन, तरकारी खेती लगायतमा लगानी गरेर उत्पादन बढाउँदै आयआर्जनमा बृद्धि गरेका छन् । यसरी सहकारीले शेयर सदस्यहरुलाई अगाडि बढाइरहेका छन् ।
समाजः सहकारी अभियानका चुनौतीहरु के—के हुन् ?
देवकोटाः अहिले यो कोरोनाले गर्दा लकडाउनले किसानहरुको उत्पादनमा पनि र उत्पादित बस्तु विक्रिमा समस्या भैरहेको छ । त्यस्तै बचत तथा ऋणहरुले निक्षेप संकलन गरेर लगानी गरेका थिए । त्यो उठ्ने अवस्था छैन । अहिले एक सहकारीमा भएको शेयर सदस्य अर्कोमा हुन नपाउने भन्ने व्यवस्था छ र कतिपय सहकारीहरु एकीकरण नगरे धरासायी हुने अवस्था छ ।
समाजः सहकारी अभियान बचत तथा ऋणमा बढि केन्द्रित भएको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
देवकोटाः उत्पादनको क्षेत्रमा सबै विषयगत सहकारीहरु अगाडि बढ्नु पर्ने हो । तर पनि बचत तथा ऋणले निक्षेपण गर्ने र ऋण प्रवाह गर्ने हुनाले हाल बचत तथा ऋणको संख्या धेरै छ । बचत तथा ऋणले पनि पछिल्लो समय उत्पादनलाई जोड दिँदै बजारीकरणलाई पनि लिएर अगाडि बढेको छ । हिजोको दिनमा बचत तथा ऋण सहकारी धेरै दर्ता भएको थियो । अहिले त्यो अवस्था छैन । स्थानीय सरकारले पनि सहकारीलाई नियमन गर्छ । अब विस्तारै सहकारी संस्थाहरु धेरै होइन एकीकरण गरेर अगाडि बढ्ने देखिन्छ । एकीकरण नै अहिलेको पहिलो प्राथमिकता हो भनेर अहिले विषयगत सहकारी संघ, जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र सरकार पनि त्यसमा लागेको छ ।
समाजः उत्पादन र बजार व्यवस्थापनमा सहकारीले भूमिका खेल्न नसकेको हो ?
देवकोटाः उत्पादन राम्रो छ तर उत्पादन भएको बस्तु विक्री हुन्छ भन्ने किसानमा धारणा भएन भने उत्पादन कमी हुन्छ । सहकारीले मात्र गरेर बजारीकरण हुँदैन, यसमा सरकारले पनि विषयगत सहकारीहरुलाई सहुलियत प्रदान गर्नुपर्छ । विदेशको बस्तु ल्याउने तर यहाँको बजार व्यवस्था नगर्ने हो भने सरकार पनि दायित्वविहिन हुन्छ । त्यसैले हामीले जसरी बजारीकरणमा भूमिका खेलेका छौं त्यसरी नै सरकारको पनि अहम् भूमिका जरुरी छ ।