हेटौंडाः बागमती प्रदेशको “विनियोजन विधेयक २०७७” नेकपाको बहुमतले पारित गरेको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकमा नेकपाको बहुमतले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । आज बाँकि ४ मन्त्रीहरु र मुख्यमन्त्री डोरमणि पौडेलले विनियोजन विधेयक २०७७ को छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिएलगत्तै आगामी वर्षको बजेट जस्ताको तस्तै पारित गरिएको छ । बजेट पारित गर्न प्रमुख प्रतिपक्ष दल लागयतका अन्य दलका सांसदहरुले असहमती जनाएपनि नेकपाको बहुमतले पारित भएको हो ।
बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारलाई अब आगामी साउन १ गतेबाट उक्त बजेट खर्च गर्न बाटो खुलेको छ । बजेट पारित भएसँगै खर्च गर्न बाटो खुलेको प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेशको विनियोजन विधेयक २०७७ माथि मंगलबारबाट ३ दिन छलफल चलेको थियो भने हिजो बिहीबार र आज शुक्रबार मन्त्री र मुख्यमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिनुभएको थियो । प्रमुख विपक्षी दल र अन्य दलहरु राप्रपा, नेमकिपा, विवेकशिल साझापार्टी, राप्रपा संयुक्त लगायत बजेट परिमार्ज गर्नुपर्ने पक्षमा रहेका थिए । आगामी वर्षको बजेटको विषयमा छलफल भएको ४ दिनसम्म प्रदेशसभाका सांसदहरुले बजेट परिमार्जन गरेर बजेटको आकार घटाउन सुझाव दिएपनि नेकपाको बहुमतले जस्ताको तस्तै आगामी वर्षको बजेट पास गरेको हो ।