नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् । नेपालको मुख्य खाद्यबाली हो, धान । तराई तथा पहाडी क्षेत्रमा प्रशस्त धान खेती हुने गर्दछ । बिहान, बेलुका भात खाने बानी भएका नेपालीका लागि धान महत्वपूर्ण बाली बनिरहेको छ । धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । धान दिवससँगै यस दिन रोपाइँ महोत्सव गरेर दही चिउरा खाने परम्परा पनि रहेको छ । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ । धान खेती हाम्रो समाज र जीवनसँग अभिन्न भएर रहेको छ । त्यतिमात्र होइन यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, पोषण, सांस्कृतिक एवम् धार्मिक महत्व पनि राख्दछ । नेपालको खाद्य सुरक्षाका लागि धान महत्वपूर्ण बाली हो । दुईछाक भात खान पाएको–नपाएको विषयले हाम्रो खाद्य सुरक्षाको सामान्य मापन हुने गरेको छ ।

नेपालमा खाद्यान्न बालीमध्ये यो सबैभन्दा बढी क्षेत्रफलमा खेती गरिने र सबैभन्दा बढी मात्रामा उत्पादन हुने धान नै हो । नेपालमा मात्र नभई विश्वका अन्य थुप्रै देशमा धान उत्पादन हुन्छ । विश्वभरि नै धेरै वा थोरै मात्रामा यसको उपभोग पनि हुने गर्दछ । विश्वका करिब २५ प्रतिशत कृषकहरुले करिब १६ करोड हेक्टर क्षेत्रफलमा धान खेती गर्ने र करिब ५६ प्रतिशत जनसंख्यालाई चामल खुवाउने गरेको तथ्यांक पाइन्छ । जसमध्ये ९० प्रतिशत धान/चामल एसिया महादेशमा उत्पादन र खपत हुने गर्दछ । संसारभरमा करिब ७० करोड टन धान उत्पादन हुने गरेको छ । नेपालमा झण्डै १४.५ लाख हेक्टरमा धान खेती हुने र वार्षिक सरदर ५५ लाख टन उत्पादन हुने गर्दछ । यसको प्रचलित बजार मूल्य करिब २ खर्ब रुपैयाँ हुने गरेको छ । तर, नेपालले वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको धान र चामल आयात समेत गर्ने गरेको छ । पछिल्लो समय खेतीयोग्य जमिन घट्दै गएको, जमिन बाँझो राख्न थालिएको भए पनि उन्नत बिउ तथा प्रविधिको प्रयोगले धान उत्पादन कम हुन दिएको छैन ।

नेपालमा खेतीयोग्य जमिनमा आवासका लागि ‘प्लटिङ’ गरिनु र काम गर्ने जनशक्ति विदेशिने क्रम बढ्नुले धानलगायत अन्य कृषि उत्पादनमा असर परिरहेको छ । विगतमा चामल, दाललगायत थुप्रै कृषि उत्पादन निर्यात गर्ने हैसियत भएको नेपाल अहिले किन आयात गर्ने अवस्थामा पुग्यो होला भन्ने बारेमा सरकारी नीति निर्माता गम्भीर बन्नुपर्छ । जनसंख्या बढेअनुसार धान र अन्य कृषि उत्पादन बढ्न नसक्दा आयात गर्नुपर्ने अवस्था भएको हो । कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपर्नु, कृषि पेशामा आकर्षण कम हुनु, पर्याप्त सिँचाइ सुविधा उपलब्ध नहुनु, रासायनिक मल र उन्नत बिउको उपलब्धता सहज नहुनु, जलवायु परिवर्तनको प्रभाव पर्नुले पनि धान उत्पादन बढ्न नसक्दा आयात बढेको मान्न सकिन्छ । मकै, गहुँ, कोदो, फापरजस्ता खाद्यान्नको सट्टा चामलको उपभोगमा नेपालीहरुको आकर्षण बढ्दै जानुले करिब ५० वर्षको अन्तरालमा चामलको उपभोग झण्डै दोब्बर भएकाले पनि आयात गर्नुपर्ने अवस्थामा पुगेको हो ।

नेपालमा धानखेतीका लागि अनुकूल वातावरण छ । तर, मनसुन तथा अन्य पक्षमा हुने प्रतिकूलताले धान खेती फस्टाउन सकेको छैन । समयमा पानी नपरेका कारण यस वर्ष हालसम्म धान खेती हुने जमिनको १० प्रतिशतमा मात्र रोपाइँ भएको छ । धानको उत्पादन बढाएर खाद्य सुरक्षाको ग्यारेन्टी गर्न र आयात कम गर्नु आवश्यक छ । यसका लागि नेपालमा धान खेतीसम्बन्धी छुट्टै राष्ट्रिय नीति ल्याउनु उपयुक्त हुने भए पनि त्यसो हुन सकेको छैन । धान दिवसका दिन विभिन्न तहका सरकारले औपचारिक कार्यक्रम गरेरमात्र हुँदैन । दिवसको नाराले भनेजस्तो नीति तथा कार्यक्रम ल्याएर धान उत्पादन वृद्धि गर्नुपर्छ । साथै, खाद्यान्न भनेको धानमात्र हो भन्ने मानसिकतामा परिवर्तन गरी सबै प्रकारको खाद्यान्नको उपयोगमा जोड दिनु उचित हुनेछ ।