प्रकृति अर्याल

जीवन एउटा सुन्दर प्राकृतिक उपहार हो । हामी चाहेर जन्मेका हुँदैनौं, नचाहेर पनि जन्मँदैनौं, चाहँदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो, आविष्कार हो, प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो, उपहार हो । जन्मपछि जीवन प्रारम्भ हुन्छ । हामीले जन्म लिन्छौँ तर जीवनलाई भने भित्र खोज्नु पर्दछ । जीवनको खोजी गर्नु एउटा मानवीय कला हो । यसको वास्तविक अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ । यसको कुनै परिभाषा हुँदैन । वास्तविक भोगाइको के परिभाषा हुनु र यो त आफैँमा भेगाई हुन्छ । त्यसै हुन्छ, जे छ, हुन्छ र हुनेछ त्यो नै सार्थकता हो । जीवन के हो भन्ने प्रश्न नै सबैभन्दा ठूलो दार्शनिक प्रश्न हो । यसको अर्थ र सार्थकता केमा छ, त्यो बुझ्नु नै जीवनको सार हो । यस तत्व नै ज्ञानसम्म पु¥याउने प्रश्न हो । समुन्द्र भित्र पसेर समुन्द्र कहाँ छ भन्ने जस्ता प्रश्नले यसको उत्तर प्राप्त गर्न गाह्रो नै हुन्छ जीवनमा । यसको रहस्यहरुलाई नै केलाउँदै भोग्दै रमाउँदै आनन्दित हुँदै अगाडि जाने हो । यो एक मात्र गन्तव्य नभएर सुन्दर बाटो हो ।

जीवनको वास्तविक रहस्य खोज र अनुसन्धानले हामीलाई यो बाध्यता हो कि रोजाइसम्म पु¥याउँछ । जीवनका मानवीय, पारिवारिक र सामाजिक पाटाहरु छन् । बौद्धिकता, संवेदनशीलता र जिम्मेवारीहरु छन् । उत्तरदायित्व वहन गर्ने कुरालाई नै बाध्यता मान्ने कि रोजाइ ! जीवनको दार्शनिक खोज र भोग, दर्शन र दृष्टिकोणले यसको छिनोफानो गर्छ । जीवन प्रतिको दृष्टिकोण, आदर्श, करुणा र मूल्यले हामीलाई ड्राइभ गरेको हुन्छ । हामी जीवनको भोगाईहरुलाई साथमा बाँकी हरेक दिन संघर्षको मैदानमा एकल यात्री झैँ गन्तव्यका खोजीहरुमा भौतारीँदै हुन्छौं । वास्तवमा विचारबाट निर्देशित हुने हामी जे चाहन्छौं त्यो पाउँछौं । विचारको बिज जस्तो रोप्छौं त्यस्तै योजनारुपी रुख र लक्ष्यरुपी फल लाग्छ भन्ने रहस्यलाई खोजी गर्दै हुन्छौं । अमृतवृक्ष रोपे अमृत र विषवृक्ष रोपे विष फल्छ भन्ने कुरा छ, विचार निर्माणको विषयलाई कसरी ग्रहण गर्ने भन्ने कुरा आफैँमा दुःख छ, असफलता छ, अज्ञानता छ । साथै गरिबी र बाध्यता पनि आफ्नो ठाउँमा छ । यी सबै वास्तवमै सापेक्षित कुरा हुन् । समय सदैव परिवर्तनशील हुन्छ । दुःख–सुखमा, असफलता–सफलतामा, अज्ञानता–ज्ञानमा, गरिबी–सम्पन्नतामा, बाध्यता–रहरमा कुनै बेला पनि बद्लिन सक्छ । साथै नबद्लिन पनि सक्छ अनि पुनः बद्लिन्छ पनि ।

खाली प्रक्रियामा समय लाग्छ भने झैं यो सबका लागि बोध र धैर्यताको आवश्यकता पर्छ । सत्य लागेको असत्य र असत्य लागेको सत्य पनि हुन सक्छ । खासमा जीवन भनेकै धैर्यता र बोधको लामो यात्रा हो । अझ खास भन्दा एक सत्य जस्तै लाग्ने भ्रम हो । एक भ्रमबाट अर्को भ्रमसम्मको यात्रा हो र हामी एक यात्री हौँ । जसरी दुःखको भारी सुख हुँदैन त्यसरी नै हामीले पनि जीवनलाई भारी, बोझ र बाध्यताको रुपमा हेर्नू हुँदैन । चाहे अरुले जस्तोसुकै देखोस् या वास्तविकता नै किन नहोस् तथापि त्यो पनि परिवर्तन हुने कुरा हो भन्दै सुन्दर जीउने अवसरको रुपमा लिँदै उच्चतम् विवेकको प्रयोग गर्दै बाँच्नुपर्छ । हाँसो ठट्टालाई पनि जीवनको एक हिस्सा बनाउनु पर्छ । बाँच्नु जत्तिको ठूलो कुरा केही रहेनछ । जे जति छ बाँच्नुमा छ बाँकी त के छ र हाम्रो जीवनमा ? बाँचिएकै छौँ र त हाँस्न, रुन, गुनासो गर्न पाएका छौँ । जीवनमा हामीले कहिले हरेस खानु हुँदैन किनभने जति दुःख आएपनि जिन्दगी सधैँ एकैनाश नरहने भएकोले पुनः भोलिका दिनमा उदाउन सक्छ । त्यसले हामी कहिले, हरेस नखाउँ र हरेस नखानाले हामीलाई बाँच्नुको वास्तविकतालाई सिकाउँछ, बाँच्नु नै सफलता भएको इङ्गित गर्छ । यदि हामीले बाध्यताको जीवन बाँच्छौं भने हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई सीमित गर्छौं । स्वतन्त्रता नष्ट गर्छौं । जीवनको सही अर्थ निर्माण गर्न सक्दैनौं । कुनै पनि विषय र क्षेत्रमा गहिरिन सक्दैनौं । इतरमा रस छ, आफैंमा चाहिँ छैन भन्ने निष्कर्षमा पुग्छौं निरास हुन्छौं हाँसिदिन्छौं, खाँदैनौं–खाइदिन्छौं, गर्दैनौं–गरिदिन्छौं, लाउँदैनौं–लगाइदिन्छौं, भोग्दैनौं–भोगिदिन्छौं । यी सबै भोगाइहरू र बाध्यताको जीवन बाँच्नेहरुका अनुभूति र अनुभवहरुमा आधारित छन् । जब हामी हाम्रो रोजाइको जीवन बाँच्छौं, हामीले हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आत्मिक क्षमतालाई असीमित बनाउँछौं । जीवनप्रतिको आत्मविश्वास जाग्छ । जाँगर र उत्साह आउँछ । आफैंमा रस देखिन्छ । इच्छाशक्ति तीव्र हुन्छ । कुनै विषय वा लक्ष्यलाई लिएर हामी जस्तोसुकै कठिन यात्रा नै किन नहोस् गर्न तयार हुन्छौं । हामीले रोजेको प्रेमिका÷प्रेमी या रोजेको काम यसका उदाहरणहरु हुन् । जहाँ इच्छा, त्यहाँ उपाय हुन्छ ।

शारीरिक रुपले कमजोर भएर पनि जीवन रोजेकाहरुको सफलता हेरौं न । अमेरिकी वैज्ञानिक स्टेफन हकिङ, अमेरिकी लेखिका हेलेन केलर, नेपाली अब्बल सष्टा झमक घिमिरे, मेक्सिकोका प्रख्यात कलाकार प्रिद्रा कोँ, चर्चित बलिउड नृत्याङ्गना सुधा चन्दन । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । हरेक मानिसका इच्छा हुन्छन् । रोजाइ हुन्छन् । इच्छा र रोजाइलाई स्वयम्ले गहिरिएर हेर्ने, शुद्धीकरण गर्ने, मूल्यवान र अर्थपूर्ण बनाउने हो भने शरीर, मन र आत्मा संयोजनमा संयुक्त शक्ति लिएर पूर्ति गर्न लागी पर्छ । कुनै बाध्यताको आभास हुँदैन । त्यो उसको डेस्टिनी बन्छ । चाहना र रोजाईको काममा थकाइ हुन्न । कामैबाट खुशी, आराम र मनोरञ्जन पाउँछ । जब काम पूजा र आराधना बन्छ । त्यही आनन्द पाउँछ । त्यही काम बाध्यतावस गर्नु प¥यो भने चैन भाग्छ । जीवनलाई बाध्यात्मक ठानेर बेअर्थी बनाउने कि रोजाइ अनुसारको बाँचेर अर्थपूर्ण बनाउने आफ्नै हातमा हुन्छ तर जीवन स्वयं भने ईश्वरको हातमा हुन्छ जुन भाग्यवस अहिले हामीले पाएका छौं । लाखौं र करोडौं मध्ये एकलाई प्राप्त हुन्छ । जो अहिले हामीलाई सुन्दर अवसर प्राप्त छ । भनिन्छ, शरीर बूढो हुँदै जान्छ । मन अझ परिपक्व हुँदै जान्छ । कहिल्यै बूढो हुँदैन मन । असीमित शक्ति मनसँग हुन्छ । जति भोग्दै गयो त्यति बुझ्दै गयो, जीवन झन्–झन् अर्थपूर्ण र मूल्यवान हुँदै जान्छ । मर्ने बेलामा त जीवनको मूल्य चुलिएर सगरमाथामा बन्छ । थोरै वातावरणले र बाँकी सबै मन र मस्तिष्कले जीवनलाई कसरी लिने र चलाउने भन्ने निर्धारण गर्छ ।
मानिसका आ–आफ्ना बुझाई र भोगाई हुन्छन् । यस्तो फरकपन हुनु नै मान्छे हुनु हो । यात्रा आफैं गर्नुपर्छ । यात्री त कतिबेला बाटो बन्नुपर्छ । त्यसमा पनि बाटोहरु अलग–अलग हुनसक्छन् तर गन्तव्य एउटै छ । आखिर सबैको जीवनको यात्रा असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, असफलताबाट सफलतातर्फ, अंशबाट पूर्णतातर्फ र मृत्युबाट अमरतातर्फको नै हो र हुनुपर्छ । हामीलाई जीवनको बाध्यताले होइन रोजाइले नै यी प्रक्रियाहरु तर्फ धकेल्छ ।

हामी रोज्छौं एउटा, चाहान्छौं । एउटा तर अर्कै पायौं जस्तो लाग्छ । अल्पकालमा यस्तो लागेको भए पनि दीर्घकालनमा त्यो पाएरै छाड्छौं । अन्ततः आकर्षणको नियम लागू भएरै छाड्छ । तर गर्नु पर्ने मूल कुरा हो, नियमपूर्वक अभ्यास, सकारात्मक सोच, पूर्ण विश्वास, मिहिनेत र संघर्ष । वर्तमानमा पल प्रतिपल आफ्ना लागि बाँच्न, डर र तनावबाट मुक्त हुन, मनका कुरा बोल्न, असलमित्र बनाउन र खुशी हुन जीवनका बाध्यताहरुबाट मुक्त हुनै पर्छ । बेलैमा आफ्नो जीवनले रोजेको बाटो हिँड्नै पर्छ । सिग्मण्ड फ्रायडको कथन अनुसार सबैभन्दा महत्वपूर्ण दुई कुरा, काम र प्रेम गर्न सिक्ने, प्रतिष्ठित वैज्ञानिक फ्रान्सिस क्रिकको जस्तै काम गर्दा–गर्दै मर्न मन हुने, जे कुरा शुरु हुन्छ, त्यो टुंगिन्छ पनि भन्ने बोध हुने हो भने असली जीवन बाँच्न सकिन्छ । यहाँ काम सृजनात्मक र प्रेम समर्पित हुने र दुख–सुख दुबै बितेर जान्छ भने तत्वज्ञानको बोध नहुँदा मात्र जीवन बाध्यता बन्ने हो । जीवनको लय र कला छुट्ने हो । खुशी भएर बाँच्नु एउटा कला हो र त्यो धेरै हदसम्म आफ्नो हातमा हुन्छ भन्ने छोपिने हो । अनि धेरै मानिस खुशीको खोजीमा जीवन बिताउँछन्, आँसु हात लाग्ने हो । तर खुशी भनेको त्यसरी टाढा खोज्नुपर्ने कुरा नभएर आफ्नै वरिपरि हुन्छ र आफ्नो रोजाइको कुरा पनि हो । जब त्यो भेटिन्छ र भित्री आँखा खुल्छ अनि सुख, खुशी र आनन्द स्वयम् प्रकट हुन्छ भनेर बोध हुने हो भने जीवन रोजाई हुन्छ तर दुखको कुरा जीवन बुझ्नेले पनि सायद अन्तिममा मात्र बुझ्दा हुन् । समय सकिएपछि ।

परिणाममा हाम्रो जीवन मूल्यवान भयो । यात्रा अमरतातर्फको तय भयो । हाम्रो जीवनको सत्यको, सफलताको, पूर्णताको, उज्यालोको र अमरताको बाटो खुल्यो । अतः बेलैमा ज्ञात होस् जीवन बाध्यता हुँदै होइन्, रोजाइ अवश्य हो । रोज्नुहोस, आनन्दले जीउनुहोस् । वास्तवमा जीवनलाई सुन्दर बनाउनका लागि अरु केही गर्न पर्दैन, मनको विकार त्याग गरे पुग्छ । हाम्रो मनभित्र अनेक प्रकारका विकार जमेर रहेको हुन्छ । त्यही विकार हो, जसले हामीलाई हास्न दिँदैन । त्यही विकार हो, जसले हामीलाई खुसी हुन दिँदैन । त्यही विकार हो, जसले हामीलाई उमंग दिँदैन । अक्सर हामी समस्याको कारण दुखी हुन्छौं । यस्तो लाग्छ, हामीलाई चारतर्फ समस्याले घेरा हालेका छन् । कतिले यसबाट उन्मुक्ती पाउनका लागि आत्महत्याको बाटो रोज्छन् । मानौं, समस्या यस्तो भूत हो, जसले हामीलाई लखेटिरहन्छ । तर, त्यही समस्याले अवसर पनि लिएर आएका हुन्छन् । हरेक समस्याभित्र समधान मात्र हुँदैन, अवसर पनि हुन्छ । त्यसैले जुन कुरालाई हामी समस्या देख्छौं, असल मान्छेहरुले त्यहीभित्र अवसर खोज्छन् भनिन्छ, नि हरेक समस्याको एउटै हल हो श्रम । अर्थात श्रम नै हरेक समस्याहरुको समधान हो । जब हामी सार्थक श्रम गर्छौं, त्यसले कुनैपनि समस्यालाई नजिक पर्न दिँदैन । त्यसैले श्रमबाट हामी कहिले पनि विमुख हुनुहुँदैन ।