हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित महिला जागरण समूहले २४ जना महिलालाई सम्मान गरेको छ । समूहले एक कार्यक्रमबीच ५ दिने झोला तथा खादा तालिममा सहभागी भएका २४ जना महिलालाई सो खादा तथा प्रमाणपत्रसहित सम्मान गरेको हो ।
बिहीबार हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले महिला जागरण समूहको व्यवस्थापनमा एकदिने अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले वडाबाट प्रदान गरिने सेवा सुविधाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले वडालाई पहिले व्यवस्थित बस्ती, व्यवस्थित सहर बनाउने बताउनुभयो । यस्तै, वडालाई शिक्षाको केन्द्र, खेलकुदको विकास, वडामा धार्मिक क्षेत्र तथा सामाजिक भेला अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा महिला जागरण समूहको बारेमा हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । राधिका चौलागाईको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य गीता त्रिपाठीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा करिब ५५ जनाको सहभागिता रहेको थियो ।