स्वास्थ्य बीमा बोर्डको दर्ता सहयोगीकर्ताहरुले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ज्ञापन पत्र बुझाउँदै ।

हेटौंडाः स्वास्थ्य बीमा बोर्डको दर्ता सहयोगीकर्ताहरुले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी रविन भुसालमार्फत बागमती प्रदेशको स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

आइतबार बीमा सहयोगीकर्ता विष्णु प्रसाद तिमल्सिना नेतृत्वको टोलीले ९ बुँदे माग राख्दै बोर्डले सहयोगीकर्ताहरुलाई सामाजिक सुरक्षा बापत १ प्रतिशत कर कट्टा गरेर १० प्रतिशत पारिश्रमिक दिने गरेकोमा बोर्डले सामाजिक सुरक्षा कर वापत १५ प्रतिशत कर कट्टा गरेर पारिश्रमिक दिने गरेको भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

बीमा बोर्डको सहयोगीकर्ताहरुले ७ बर्षदेखि पारिश्रमिकस्वरुप न्युनतम १० प्रतिशत रकम पाउने गरेको बताउँदै सहयोगीकर्ताहरुले बीमा गर्नका लागि सबैको घरघरमा पुग्नु पर्ने भएकोले पारिश्रमीक दरलाई बढाएर २० प्रतिशत पुर्याउन माग गरेका छन् । सामाजिक सुरक्षाको रकम बापत १ प्रतिशत मात्र कर कट्टा गरेर पहिला जस्तै १० प्रतिशतको दरले पारिश्रमिक दिनुपर्ने उनीहरुले माग गरेका छन् ।

दर्ता सहयोगीहरुको स्वास्थ्य बीमा निःशुल्क हुनुपर्ने, फोटो र रसिदका लागि सहयोगीकर्ताहरुलाई बोर्डले मोबाईल उपलब्ध गराउनुपर्ने, सहयोगीकर्ताहरुका लागि आवश्यक पोशाकको व्यवस्था गर्नुपर्ने, अनलाईनको नवीकरण गर्नका लागि प्रोत्साहन रकम प्रदान गर्नुपर्ने, समयमा प्रोत्साहन रकम भुक्तानी गर्नुपर्ने र समयमा पारिश्रमको रकम पाउनुपर्ने उनीहरुको माग छ ।

सहयोगीकर्ता विष्णु तिमल्सिनाले ३ हजार ५ सय रुपैयाँ बराबर एउटा परिवारको बीमा गरेवापत १० प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गरेर ३ सय ४६ रुपैयाँको दरले पारिश्रमिक पाउने गरेकोमा अहिले १५ प्रतिशल कर कट्टा गरेर २ सय ९७ रुपैयाँको दरले पारिश्रमिक पाउने गरेको बताउनुहुँदै माग पूरा नभए आन्दोलन गर्न बाध्य हुने बताउनुभयो । सहयोगीकर्ताहरुले आफुहरुले कुनैपनि तलब सुविधा नपाएको र स्टेशनीहरु सामग्रीहरुका लागि व्यक्तिगतरुपमा पैसा खर्च गर्नुपर्ने गुनासो गरेका छन् ।