मनोसामाजिक समस्या नेपालको सन्दर्भमा एक उदीयमान मुद्दा हो । जसरी धमिराले काठलाई खोक्रो बनाउँदछ त्यसरी नै आज मनोसामाजिक समस्याले धेरै मानिसहरुको जीवनलाई खोक्रो बनाइरहेको अवस्था छ । तर विडम्बना अझै पनि शहरी क्षेत्रमा रहेका व्यक्ति तथा शिक्षित वर्गहरु समेत मनोसामाजिक समस्याको परिभाषासँग अञ्जान छन् । यस्तो स्थितिमा ग्रामिण भेगमा बसोबास गर्ने र अशिक्षित वर्गहरुमा मनोसामाजिक समस्या सम्बन्धी जानकारी तथा चेतना कति हदसम्म होला भन्ने अनुमान हामी सजिलै गर्न सक्छौं ।
मनोसामाजिक भन्नाले व्यक्तिको मन, सोचाई, व्यवहार र समाजसँगको गतिशील सम्बन्ध हो । मानिस सामाजिक प्राणी भएकोले व्यक्तिको सोँच, विचार, बुझाई, भावना, व्यवहार, परिवार तथा समुदायको वातावरण, रितीरिवाज चालचलन सामाजिक मूल्य मान्यता, धर्म, संस्कृति, परम्परा, आदि जस्ता सामाजिक पक्षसँगको अन्तरक्रिया र त्यसबाट उत्पन्न हुने अनुभव र व्यवहारले उसको मनोसामाजिक अवस्थामा प्रभाव पारिरहेको हुन्छ । विशेषगरी मानव जीवनसँग जोडिएको मानवीय घटनाहरुले व्यक्तिको मन र मस्तिष्क अर्थात मनोसामाजिक सुस्वास्थ्यलाई प्रभाव पार्दछ । अरुलाई चोट पुर्याउने किसिमको बोली व्यवहार, स्वभाविक तथा अस्वभाविक मृत्यु, दुर्घटना, विछोड, धोका, धम्की, शोषण, लाञ्छना, सामाजिक प्रतिष्ठा गुमाउँदा, असफल हुँदा, भविष्यप्रति चिन्ता, बेरोजगारी हुँदा तथा रोजगारी गुमाउँदा दीर्घ रोगको सामना गर्नु पर्दा, कुलतमा फस्दा, सामाजिक, पारिवारिक द्वन्द्व प्रभावित हुँदाको अवस्थाहरु मानोसामाजिक स्वास्थ्यलाई प्रभाव पार्ने कारणहरु हुन् ।
मानव निर्मितसँगै प्राकृतिक घटनाहरु जस्तै भूकम्प, आगलागी र महामारी प्रकोप जस्ता घटनाहरुको सामाना गर्नु परेका व्यक्तिहरुमा समेत मनोसामाजिक स्वास्थ्य समस्या देखा पर्न सक्छ । कुनै पनि घटना सहन वा सामना गर्न सक्ने क्षमता व्यक्ति अनुसार फरक फरक हुने भएकोले आफ्नो जीवनमा आईपर्ने समस्यालाई सामना गर्न सक्ने क्षमता कम भएको अवस्थामा मनोसामाजिक स्वास्थ्य समस्या देखिन्छ वा बढ्दै जान सक्छ ।
धेरै व्यक्तिहरुमा मनोसामाजिक समस्या भए तापनि यसलाई समस्याकोे रुपमा नै हेरिँदैन अथवा म मनोसामाजिक समस्याबाट गुज्रिरहेको छु भन्ने समेत थाहा पाउँदैनन् भने, जसलाई आफू समस्यामा परेको छु भनी जानकार हुन्छन् उनीहरुले समेत मनोसामाजिक स्वास्थ्य सेवाको कमि, थोरै मात्रामा मनोविज्ञ, मनोचिकित्सकको उपलब्धता भएकोले सरल र सहज तरिकाले सेवा प्रदायकसम्म पुग्न सकेका छैनन् र मनोविमर्श मार्फत उपचार पाउनुको सट्टा सिधै औषधीको सेवन गर्न पर्ने बाध्यता छ । नेपालको परिप्रेक्षमा अहिले पनि मनोसामाजिक समस्याबारे पर्याप्त जानकारी नहुनु वा व्यक्ति तथा समाजले मनोसामाजिक समस्यालाई मानसिक रोगको रुपमा लिनुका साथै समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा फरक हुन्छ भन्ने डरका कारण यस्ता समस्यालाई लुकाउनेहरु धेरै छन् ।
नेपालीहरुले एक दशकसम्म सामना गर्नु परेको सशस्त्र द्वन्द्व, वि.स. २०७२ मा गएको महाभूकम्प, भारतले लगाएको नाकाबन्दी जस्ता घटनाहरुले ठूलो परिमाणमा मनोसामाजिक सुस्वास्थ्यमा असर पार्यो । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमणको जोखिमले मानिसहरुमा ठूलो त्रास श्रृजना गराएको छ । ठूलो संख्यामा रोजगारी गुमेको छ । व्यवसायीहरु घाटामा छन् । बैंकको किस्ता, पारिवारिक द्वन्द्व, घरेलु हिंसा जस्ता कुराहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानसिक स्वास्थ्यमा असर पारिरहेको छ । पछिल्लो समय मानिसहरुमा मनोसामाजिक स्वास्थ्य प्रति चासो बढ्दै गएको देखिन्छ । तर अफसोच पर्याप्त मात्रमा सरकारद्वारा सो विषय सम्बन्धमा जनमानसलाई सचेतना गराउन नसक्दा ‘चासो’ चासोमै मात्र सीमित हुन पुगेको छ । आजसम्म पनि देशमा मनोसामाजिक समस्यालाई मानसिक समस्याकै रुपमा हेरिने अवस्था छ । तर समाज यो कुरादेखि अनभिज्ञ छ कि जो कोहिलाई पनि मनोसामाजिक समस्या हुनसक्छ ।
सबै मानसिक समस्या मनोसामाजिक समस्या हुनसक्ने तर सबै मनोसामाजिक समस्या मानसिक समस्या नहुने भन्ने तथ्यदेखि टाढा रहेको हाम्रो समाजले मनोसामाजिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरुलाई ठिस, दिमागको रोगी, पागल, साईको भन्ने जस्ता शव्दहरु प्रहार गर्नाले व्यक्तिको समस्या झन बढ्नमा सहयोग पुर्याईरहेको हुन्छ । जसको गर्दा समाजमा आत्महत्या र आपराधिक घटनाहरु दिनानुदिन बढ्दै गइरहेको छ । यसरी मनोसामाजिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरुको संख्या बढ्दै गर्दा त्यसको उपचार र समस्या समाधानप्रति राज्यको गम्भीर ध्यानाकर्षण देखिएको छैन । हामीले यसलाई सानो समस्याको रुपमा मात्र लिएको भए तापनि यसको आकार वृहत भैसकेको छ । त्यसैले मनोसामाजिक स्वास्थ्य सुधारप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी छ । तथापी हालसम्म पनि सरकारको नीति, कार्यक्रम र बजेट तथा सरकारले उपलब्ध गराउने सेवाको प्रकृति हेर्दा सरकार मनोसामाजिक स्वास्थ्यको कार्यान्वयनको सम्बन्धमा त्यती जिम्मेवार भएको देखिँदैन । त्यसैले सरकारले मनोसामाजिक समस्यामा परेकाहरुलाई तत्काल मनोविमर्श सेवा प्रदायक मनोविमर्शकर्ताहरुको संख्या र सेवा केन्द्र बढाएर पर्याप्त मात्रामा सेवाको उत्पादन र आवश्यकता अनुसार वितरण गर्न र यस विषयमा सचेतना जगाउनपर्ने आवश्यक देखिएको छ । सम्भव भएसम्म विद्यालय, स्वास्थ्यचौकी, मेलमिलाप केन्द्र, संरक्षण केन्द्र, सुधार गृह, कारागार जस्ता ठाउँमा निशूल्क र सबैको पहुँच हुने गरी यस्ता खाले सेवाहरु तुरुन्त उपलब्ध गराउन आवश्यक छ ।
अब यस्ता समस्याहरुमा कमी ल्याउन वा समस्या बढ्न नदिन सरकारले यस विषयलाई प्राथमिकताका साथ राख्ने र त्यसको सफल कार्यान्वयनमा जोड दिनुपर्ने देखिएको छ । मनोसामाजिक समस्या एक संवेदनशील विषय भएकोले यसको समाधानका लागि राज्य अब पनि अग्रसर नहुन हो भने आगामी दिनमा त्यसले व्यक्ति समाज र राष्ट्रमा ठूलो क्षति पुर्याउन सक्ने सम्भावना देखिन्छ । सेवाको उचित र पर्याप्त व्यवस्थापन र वितरण बिना मनोसामाजिक समस्या समाधान हुन्छ भनी परिकल्पना समेत गर्न नसकिने भएकोले राज्यको गम्भीर ध्यानाकर्षण र नागरिकहरुको समन्वयकारी भूमिका हुनुपर्ने देखिएको छ ।
मनोविमर्शकर्ता, नारी संरक्षण केन्द्र,मकवानपुर