झण्डै डेढ दशकदेखि निर्माणाधीन गौरीटार रंगशालाले पूर्णता पाउने आशा बढेको छ । वि.सं २०६६ जेठ २८ गते केन्द्रीय खेलकुद प्रतिष्ठानको नाममा शिलान्यास भएको गौरीटार रंगशाला लामो समयसम्म सरकारी बेवास्ताको शिकार बन्यो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले झण्डै ५ अर्ब खर्च गरेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रतिष्ठानको उद्घाटन गरेका थिए । तत्कालीन सरकारहरुले न्यून बजेट विनियोजन गरेका कारण रंगशाला निर्माणको काम अलपत्र परेको हो । रंगशाला निर्माणमा बजेट न्यून हुँदा शिलान्यास भएको करिब १० वर्षसम्म रंगशालाको वरपर पर्खाल र खेलाडीको छात्राबासमात्र बनेको थियो । २०७४ मा प्रदेश सरकार गठन भएपछि बागमतीका प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणमा चासो देखाएसँगै रंगशालामा केही संरचना थपिन थालेको थियो । संघीय सरकारले बेवास्ता गरे पनि बागमती प्रदेश सरकारले हरेक वर्ष केही बजेट छुट्याउँदै आएको छ ।

पछिल्लो समय बागमती प्रदेश सरकारले आफ्नो गौरबको योजनामा यो रंगशालालाई समावेश गरेपछि रंगशाला निर्माणको कामले केही गति लिएको छ । शनिबारमात्रै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गौरीटार रंगशालामा पौडी पोखरी र क्रिकेट रंगशाला निर्माणका शिलान्यास गरेका छन् । प्रदेश सरकारको २० करोडभन्दा बढी लगानीमा स्विमिङ पुल र क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । ८ करोड ६२ लाख ६१ हजारमा स्विमिङ पुल र ११ करोड ७४ लाख रुपैयाँमा क्रिकेट रंगशाला निर्मा णको ठे क्का सम्झौ ता भएको छ । गत चैत ३० गते भएको सम्झौताबमोजिम निर्माण कम्पनीले २०८२ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । सम्झौताबमोजिम २ वटा स्विमिङ पुलसहित प्यारापिट निर्माण हुनेछ । यस्तै, करिब ८० करोड लागत अनुमान गरिएको क्रिकेट रंगशालामा पनि पहिलो चरणमा करिब ६ हजार जना भीआइपी अट्ने प्यारापिट निर्माण हुनेछ । यस्तै, ग्राउन्ड लक स्प्रिङ्ग, ५ वटा क्रिकेट पिच, स्कोर बोर्डलगायत फिनिसिङका कामहरु हुनेछ ।

गौरीटार रंगशाला देशकै ऐतिहासिक रंगशाला हो । यहाँ पहिलोपटक २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता भएको थियो । त्यतिबेलै सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरिएको भए पनि कार्यान्वयन हुन सकेन । करिब २३ विगाह क्षेत्रफलमा फैलिएको यो रंगशालामा २०७० सालमा महिलाहरुको राष्ट्रिय फुटबल प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । गत माघ १६ गतेबाट गौरीटार रंगशालामा छैटौं संस्करणको शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । पछिल्लो समय प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबल र समापन कार्यक्रम यही रंगशालामा भएको थियो । बागमती प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन यहाँ विभिन्न १९ प्रकारका संरचना निर्माण गर्ने भएको छ । ९ वटा कभर्डहल, एउटा बहुउद्देश्यीय कभर्डहल, फिटनेस सेन्टर, रेसिङ ट्राक, खेलाडी छात्राबास, कार्यालय, ब्लग, कन्फ्रेन्स हललगायत संरचना निर्माण हुने भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा खेलको नियमित अभ्यास र प्रतियोगिता सञ्चालनको लागि गौरीटार रंगशाला महत्वपूर्ण पूर्वाधार हुनेछ । यो रंगशाला निर्माण सम्पन्न भएपछि यहाँ थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । केन्द्रीय खेलकुद प्रतिष्ठान बनाउने भन्दै शिलान्यास गरेको भए पनि ८ वर्षसम्म संघीय सरकारले जम्मा ५ करोड रुपैयाँमात्र रंगशालाको पर्खार र छात्रावास भवन निर्माणमा खर्च गरेको थियो । संघीयता कार्यान्वयनमा आइसकेपछि संघीय सरकारले यस रंगशालाको लागि बजेट नदिएपछि बागमती प्रदेश सरकारले महत्व दिँदै बजेट उपलब्ध गराएको हो । दीर्घकालीन योजना बनाएर आवश्यक बजेट विनियोजन गर्दै बजेटअनुसारको योजना कार्यान्वयनमा गम्भीर बन्ने हो भने केही वर्षमा गौरीटार रंगशालाले पूर्णता पाउने आशा गर्न सकिन्छ ।