हेटौंडाः सप्ताहव्यापी पशु आहारा अभियानअन्तर्गत् २ दिने स्थलगत तालिम सुरु भएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजना तथा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको समन्वयमा आइतबारबाट कार्यक्रम सुरु भएको हो । पशुको आहारामा लगानी कम गरेर गुणस्तर र सन्तुलित दूधको उत्पादन बढाउने उद्देश्यले आयोजना गरेको तालिम आज सोमबारसम्म सञ्चालन हुनेछ ।
बैशाख २९ गतेसम्म हुने सप्ताहव्यापी कार्यक्रममा छुट्टाछुट्टै समूहमा मानिसहरुलाई २ दिन प्रशिक्षण दिइनेछ । तालिममा सहभागीहरुलाई चितवन जिल्ला भरतपुर महानगरपालिकाको पशु सेवा शाखाका अधिकृत डा. सन्तोष घिमिरेले प्रशिक्षण दिनुभएको छ । उत्पादन र लागतलाई आहाराको माध्यमबाट कसरी घटाउने भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको डा. घिमिरेले बताउनुभयो । उहाँले दुग्ध उत्पादनमा लागत घटाउने उपाहरुको बारेमा बताउनुभयो । बढी उत्पादन गर्ने पशु पालेर संख्यामा कमी ल्याउन सकिने उहाँले बताउनुभयो । थोरै दूध दिने धेरै गाईवस्तु पाल्नुभन्दा बढी दूध दिने गाई पाल्दा फाइदा हुने उहाँले बताउनुभयो ।
गाईवस्तुहरुलाई दाना खुवाएर दूधको उत्पादन बढाएपनि मूल्य महङ्गो पर्ने भएकोले दूधको मूल्यमा असर पर्नसक्ने उहाँले बताउनुभयो । गाईवस्तुहरुलाई भुइँको घाँस र आफ्नो खेतबारीमा खेर गएको पातहरु प्रयोग गरी लगानीमा कमी ल्याउन सकिने जानकारी डा. घिमिरेले दिनुभयो । शरीर तन्दुरुस्त राख्न तथा शरीरको वृद्धिका लागि, शरीरको कोष तथा अंगहरुको निर्माणका लागि र पशुको सम्पूर्ण आहारामा न्यूनतम प्रोटिन उपलब्ध गराउनका लागि वस्तुहरुलाई प्रोटिनयुक्त खानेकुरा खुवाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
शरीरका लागि आवश्यक शक्ति कर्वोहाइड्रेटबाट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । कार्वोहाइड्रेटको कमीले शारीरिक वृद्धिदर कम हुने, बाली ढिलो लाग्ने, उत्पादन कम हुने, बान्ता आउने र धेरै कमी भएमा रोगहरुसँग लड्ने क्षमता कम हुने उहाँको भनाइ छ ।
पशुलाई घाँस खुवाउँदा जीवित तौलको ३ प्रतिशतले हुने सुख्खा पदार्थ दिन आवश्यक रहेको डा. घिमिरेले बताउनुभयो । उहाँले हरियो घाँसलाई सुख्खा बनाउँदा १ किलोग्राम सुख्खा पदार्थ पशुले पाउनका लागि पशुलाई ३ किलोग्राम हरियो घाँसपात खुवाउन आवश्यक रहेको उहाँको भनाइ छ । पुशलाई आहारा दिँदा उनीहरुको शरीरको स्थिति र उत्पादकत्व मौसमको आधारमा दिनुपर्ने उहाँले बताउनुभयो ।
घर खेतमा पाइने घाँस संरक्षण गर्नका लागि वर्षायाममा वृद्धि भएको घाँसलाई सुख्खा याममा खुवाउनुपर्ने उहाँले बताउनुभयो । सुकेको पराललाई युरियाको उपचारका लागि खुवाएर उत्पादन बढाउने बताउनुभयो ।