रघुराम पराजुली, (वरिष्ठ वैज्ञानिक अधिकृत, वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर)

तातो हावा तथा धूँवाको कारण जनजीवन प्रताडित बन्दै गएको छ । हिमालमा समेत गर्मी बढेका समाचारहरु आइरहेका छन् । हिमालको हिउँ पग्लिन सक्ने खतरा र हिमनदीहरुको अस्तित्व संकटमा पर्नसक्ने भय बढेर गएको छ हाम्रा वन जंगलबाट फैलिएका आगो तथा डढेलोले ठूलो क्षति निम्तिरहेको छ । लामो खडेरीका बीचमा डढेलोको प्रकोपले जैविक विविधतामा ठूलो आघात परेको छ । पानीका स्रोतहरु सुक्दै गएका छन् । बोटबिरुवाहरु पानी नपाएर अत्तालिरहेका छन् । जंगली जनावरहरु डढेलोले बासस्थान नै नास गरेपछि वस्ति पस्दै गरेका छन् भने कतिले ज्यान गुमाएका छन् ।

यसै पनि पृथ्वी तात्दै गएको र जलवायु परिवर्तनका असरहरु विकराल बन्दै गएको बेला आगलागी तथा डढेलोले जलवायु परिवर्तनका प्रभावहरुलाई थप मलजल गरिरहेको छ । डढेलो तथा आगलागी मानिसहरुको हेलचक्राइ तथा असावधानीले निम्तिने प्रकोप हो । मानिस यतिसम्म विवेकहिन बनिरहेको छ कि प्रकृति डढाउँदैछ र डढिरहँदा रमिते बन्दैछ । उसलाई प्रकृति अनि जैविक विविधतामा बेचैनी भइरहँदा पनि जुन हिसाबले संवेदना आउनुपर्ने हो सो भइरहेको देखिँदैन । जबसम्म बोट बिरुवाहरुको भविष्य सुरक्षित गर्न सक्तैनौं तबसम्म मानव जीवनको कुनै अस्तित्व रहन सक्तैन भन्ने कुरामा किन हेक्का भइरहेको छैन । नेपालमा विद्यमान ७ सय ६१ सरकारहरुमा आगलागी तथा डढेलो नियन्त्रणमा किन सवल समन्वय हुन सकिरहेको छैन । जस लिने काम भयो भने यो सरकारको उ सरकारको भनेर क्षेत्राधिकार मिच्न पनि पछाडि नपर्ने तर मानवीय तथा पर्यावरणीय संवेदनशीलताका क्षेत्रमा भने अपजस लिनुपर्ला भनेर क्षेत्राधिकारका कथा जोड्ने नियतिहरु प्रशस्त देखिन्छन् । यसले हाम्रो जस्तो मुलुकको वातावरणीय न्याय हुन सक्तैन ।

हरियो वन नेपालको धन भन्ने उखान अनि जहाँ जंगल तहाँ मंगल भन्ने भनाइले गिजाइरहेका छन् । पछिल्ला दिनहरुमा महोत्तरी, सप्तरी, ललितपुर, गुल्मी, डोल्पा, म्याग्दी तथा काभ्रेपलाञ्चोक जिल्लामा डढेलो तथा आगलागीबाट ठूलो क्षति भएका समाचारहरु आएका छन् । विभिन्न जिल्लाहरुमा डढेलो नियन्त्रण गर्ने क्रममा केहि मानिसहरुले ज्यान समेत गुमाएका छन् भने धनमाल, जीव जन्तु तथा वनस्पतिहरुको धेरै विनास भएको छ । डढेलो बेलैमा नियन्त्रण गर्न नसक्दा ठूलो जनधनको क्षति हुनसक्ने जोखिम रहन्छ । डढेलो नियन्त्रण गर्न सकिएन भने अकल्पनीय क्षति निम्तिन सक्छ । तसर्थ डढेलोको पूर्व सावधानी लिने र डढेलो लागिहालेमा नियन्त्रणमा लिने संयन्त्र तयारी अवस्थामा राख्ने कार्य साथसाथै हुनु अत्यावश्यक छ । फागुन चैत्रमा रुख बिरुवाहरुका पातहरु झरेर सुकेका हुन्छन् । सानो मात्र आगोको झिल्को लाग्न जाँदा पनि आगो सल्किन गई भयावह स्थिति सिर्जना भइरहेका हुन्छन् ।

प्रदुषणका सूचकांकहरुको आधारमा नेपालका शहरहरु अझ बढी प्रदुषित बन्दै गएका छन् । विश्वका प्रदुषित शहरहरुको अग्रस्थानमा राजधानी शहर काठमाडौं इंगित भइरहेको छ । डढेलोको किन र कसरी लाग्छ भन्ने मूल प्रश्न हो । कतिपय स्थानमा मानिसहरुले राम्रो घाँस आओस् भनेर लगाउँछन्, कतिपय अवस्थामा वन क्षेत्र अतिक्रमण गर्न त केहि अवस्थामा काठ तथा दाउराका लागि रुखहरु सुकाउने नियतले त कहिँ वन्यजन्तुहरुको सिकार गर्नका लागि पनि डढेलो लगाउने गरेका घटनाक्रमहरु सुनिन्छन् । डढेलोबाट सयौं पशु चौपायहरु मरेका छन्, केहि मानिसहरु घाइते भएका छन् भने हजारौं जीव तथा वनस्पतिहरुको बासस्थानको क्षति भएको छ ।

डढेलो नियन्त्रणका लागि थुप्रै अन्तरक्रिया गोष्ठी, छलफल तथा सचेतनामुलक कार्यक्रमहरु हुने गरे तापनि डढेलो नियन्त्रण तथा रोकथाममा उल्लेखनीय प्रगति हुन सकिरहेको देखिँदैन । तीनै तहका सरकारका सम्बन्धित निकायहरु विशेषगरी डिभिजन वन कार्यालयहरु, सुरक्षा निकायहरु, सामुदायिक वन उपभोक्ता समूहहरु, नागरिक समाज तथा सर्वसाधारण र सञ्चार जगत सबैको सामुहिक जिम्मेवारीको रुपमा लिइनुपर्दछ । डढेलो नियन्त्रणका बारेमा प्राप्त ज्ञान नहुँदा वा उपयुक्त सावधानी अपनाउन नसक्दा डढेलो निभाउने क्रममा अनायशै मानिसहरुको ज्यान जाने गरेको छ ।

डढेलोका बहुआयामिक असरहरु देखिन्छन् । जनधनको क्षति हुँदा यसकै कारणबाट मानिसहरुको घरबासको क्षति भएका छन् । मानिसहरुको न्यूनतम आश्यकता परिपूर्तिमा नै समस्या थपिएका हुन्छन् । जसको कारण गरिबी बढेर जान्छ । यसै पनि आर्थिक मन्दी छाइरहेको हाम्रो मुलुकमा डढेलो तथा आगलागी पीडित परिवारहरुलाई राहत दिलाउने विषयहरुले थप समस्या थप्ने देखिन्छ । तसर्थ कुनै समस्या आएर समस्या खोज्नु भन्दा अगाडि नै त्यस्ता समस्याहरु आउन नदिनमा बढी ध्यान दिनु आवश्यक छ । वन ऐन २०७६ को दफा ४९ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन बर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । यस प्रावधानको सवल कार्यान्वयनमा जोड दिइनुपर्दछ ।

डढेलो लाग्नै निदिने रणनीति अंगिकार गरिनु आवश्यक छ । निजी सम्पत्तिमा क्षति हुँदा जति संवेदनशील होइन्छ त्यति नै संवेदनशील सरकारी सम्पत्तिप्रति नहुने हो भने सरकारी सम्पदाको दिगो संरक्षण संधै संसयपूर्ण हुन्छ । यसका लागि समाजका सबै पक्षहरुमा वातावरणीय सचेतना जरुरी छ । विद्यालय शिक्षादेखि नै डढेलो सचेतनाका पाठ्यक्रमहरु विकास गरिनु आवश्यक छ । मानवीय कारणबाट नै धेरै समस्याहरु निम्तिने भएकाले वातावरण जोगाउनका लागि नागरिक सचेतना र नागरिक निगरानी उत्तिकै महत्वपूर्ण छ ।

डढेलो लगाउने या लगाउन प्रेरित गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही गरिनुपर्दछ । वन क्षेत्रमा गरिने भौतिक पूर्वाधारका कार्यहरु गर्दा वन क्षेत्रलाई कम भन्दा कम हानी होस् भन्ने उद्देश्यले वातावरणीय परीक्षण प्रतिवेदनहरुको अक्षरस पालना गर्नु पनि उत्तिकै आवश्यक छ । वन डढेलोहरुबाट जोगिनका लागि अग्नि रेखाहरु निर्माण गरिनु आवश्यक छ । डढेलो लागिहालेमा तीनै तहका सरकार सम्बद्ध निकायहरु, गैरसरकारी संघसंस्था, नागरिक समाज, उपभोक्ता तथा सर्वसाधारणहरु संवेदनशील भएर तदारुकताका साथ लाग्नुको अर्को विकल्प हुँदैन ।

कुनै पनि वनमा त्यहाँ रुखहरु मात्र हुँदैनन् । त्यहाँ त स साना वनस्पतिहरुदेखि झार, बुट्यान तथा रुखहरु, बहुमुल्य वनस्पतिहरु, जडीबुटी तथा सुगन्धित वनस्पतिहरु, बहुमूल्य सुनाखरीहरु, झ्याउहरु, जीवजन्तु, चराचुरुङ्गीहरु हुन्छन् । डढेलोले स साना र दुर्लभ एवम् निर्वल जनावरहरुको अस्तित्व सबैभन्दा बढी जोखिममा पर्न सक्छन् । ठूला ठूला रुखहरु अनि ठूला ठूला अनि भाग्न दौडिन सक्ने जनावरहरु त कुनै न कुनै हिसाबले सुरक्षित रहन सक्छन् । पृथ्वीमा मानिसको अस्तित्व जति महत्वपूर्ण छ । अरु जुनसुकै जीव तथा वनस्पतिहरुको अस्तित्व सो भन्दा कम हुँदैन । वास्तवमा भन्ने हो भने पृथ्वीमा मानिसको भन्दा पनि अरु जीवहरुको अस्तित्व महत्वपूर्ण देखिन्छ किनकि मानिस नभएर पृथ्वीको अस्तित्वमा कुनै असर नपर्न सक्छ तर अरु कुनै पनि प्राणी भएनन् भने पृथ्वी संकटमा पर्न सक्छ । तसर्थ अहिले जुन तवरले वायुमण्डल तातिरहेको छ, प्रदुषण बढिरहेको छ अनि डढेलो फैलिरहेको छ, यसको रोकथामका लागि उचित पहल नचाल्ने हो भने हामीले भोलिका दिनमा ठुलो वहन गर्नुपर्ने हुन सक्छ ।