हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः मकवानपुरमा कुखुरापालक किसानले लेयर्स कुखुराको अण्डामा राम्रो मूल्य पाएका छन् । यस्तै ब्रोइलर कुखुरापालक किसानले पनि अहिले राम्रो मूल्य पाएका छन् । मासु व्यवसायीको मनलाग्दीले भने उपभोक्ता पीडित बनेका छन् । कुखुराको मासुको मूल्यमा व्यवसायीले मनलाग्दी दर कायम गरेका छन् ।

कुखुरापालक किसानले बुधबारदेखि कुखुराको अण्डाको मूल्य प्रतिक्रेट तीन सय पाँच रुपैयाँ पाउन थालेका छन् । यसअघि किसानले प्रतिक्रेट अण्डाको मूल्य दुई सय ८५ रुपैयाँ पाइरहेका थिए । बजारमा माग बढेसँगै किसानले पाउने मूल्यमा सुधार भएको हो । लकडाउनका बेला किसानले एक सय ७० रुपैयाँसम्ममा कुखुराको अण्डा विक्री गर्न बाध्य भएका थिए । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले कुखुराको अण्डाको मूल्यमा सुधार भएसँगै किसानलाई राहत पुगेको बताउनुभएको छ । मकवानपुरका उत्पादन भएको कुखुराको अण्डामध्ये ७५ प्रतिशत जिल्लाबाहिर निर्यात हुन्छ भने २५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ । कुखुराको अण्डाको मूल्यमा सुधार भए पनि दानाको मूल्यमा सुधार हुन नसकेको कुखुरापालक किसानको गुनासो छ । दानाको मूल्य अहिले प्रतिकेजी ६ देखि ८ रुपैयाँ सस्तो हुनुपर्ने कुखुरापालक किसानको भनाइ छ ।

लेयर्स कुखुराको अण्डाको मूल्यसँगै किसानले ब्रोइलर कुखुरामा पनि राम्रो मूल्य पाइरहेका छन् । अहिले ब्रोइलर कुखुरा किसानले प्रतिकेजी दुई सय ६० रुपैयाँमा विक्री गरिरहेका छन् । लकडाउनका बेला एक सय २५ रुपैयाँ केजीमा समेत ब्रोइलर कुखुरा बेच्न बाध्य भएका किसान अहिले मूल्यमा सुधार भएसँगै राहत महसुस गरिरहेका छन् । किसानले उचित मूल्य पाए पनि मासु व्यवसायीले जथाभावी मूल्य कायम गरेका छन् । अहिले हेटौंडा बजारका मासु व्यवसायीले ब्रोइलर कुखुराको मासु प्रतिकेजी चार सय रुपैयाँदेखि चार सय ५० रुपैयाँसम्म विक्री गरिरहेका छन् । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले कुखुराको मासुमा यसअघि किसानले पाउने मूल्यमा एक सय ४० रुपैयाँ लागत राखेर विक्री गर्ने गरिए पनि व्यवसायीले अहिले जथाभावी मूल्य राखेको बताउनुहुन्छ ।

हेटौंडा उपमहानगरपालिकाले ब्रोइलर कुखुराको मासुको वैज्ञानिक मूल्य निर्धारण गर्न बनाएको समितिले दुई साताअघि मात्रै प्रतिवेदन बुझाएको छ । पशु स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको उक्त समितिले ब्रोइलर कुखुराको मासु किसानले पाउने मूल्य र उपभोक्ता मूल्यमा प्रतिकेजी ९० रुपैयाँ अन्तर हुनु उपयुक्त हुने सिफारिस गरेको थियो । तर, उक्त समितिको सिफारिस कार्यान्वयन हुन सकेको छैन ।