हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका कागती खेतीको पकेट क्षेत्रको रुपमा विकास हुँदै छ । केहि वर्षअघि देखि विस्तारै कागती खेतीमा हात हालेका किसानहरु हाल सरकारको पनि साथ पाएकोले कागतीको व्यावसायिक खेती गर्न अग्रसर भएको पाइन्छ । गाउँपालिकाका वडा नम्बर २, ५ र ७ मा कागतीको व्यावसायिक खेति गर्न सुरु गरिएको छ । गाउँपालिकाले ति वडाहरुका ५ स्थानलाई कागतीको पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकामा हाल १ सय ५० जना किसानहरु कागती खेती गरिरहेका छन् । नेपाल कागतीका लागि छिमेकी मुलुक भारतमा निर्भर रहेका बेला मकवानपुरका किसानले व्यावसायिक खेती गरी राम्रो लाभ लिने योजना बनाएका छन् ।
गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले माटो र हावापानीको परिक्षण गरेर नै कागती खेतीलाई प्राथामिकता दिएको बताउनुभयो । गाउँपालिकामा १२ हजार कागतीको विरुवा धनकुटाबाट केहि दिनमा ल्याइने प्राविधिक चौधरीले बताउनुभयो । गत वर्ष १ सय ५० विरुवा रोपेर कागती खेती सुरु गरेका वडा नम्बर २ मोहोरेका किसान मोहनराज लामाले यस वर्ष आफ्नो २ विघा जमिनमा कागतीका ३ सय विरुवा लगाउन खाल्डो तयार भैसकेको बताउनु हुन्छ । उहाँले गाउँपालिकाले माटो परिक्षण गरेर कागती खेती राम्रो हुने भनेपछि आफ्नो १३ गठ्ठा जमिनमा १ सय ५० वटा कागतीको विरुवा लगाएर खेतीको सुरुवात गरेको बताउनुभयो । गाउँपालिकामा उत्पादन भएको कागतीलाई गाउँपालिकाले बजारको व्यवस्थापन मिलाइ दिने गाउँपालिकाका अध्यक्ष विदुर हुमगाईले पटक—पटक भनिरहेकोले आफुहरु ढुक्क रहेको किसान लामाले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाले माटो र हावापानीको परिक्षण गरेर पालिकाको मोहोरे, तितुङ डाँडा, मापुङ खोला, ढुङ्गेगढी र दुवेचौर लगायतका क्षेत्रमा कागतीको राम्रो खेती हुने बताएको छ । वडा नम्बर २ कै किसान वीरबहादुर स्याङतानले केहि वर्षदेखि कागती खेती सुरु गरेको र ३ वर्षदेखि फल बेच्न थालेको बताउनुहुन्छ । हाल वीरबहादुरको कागती बगैंचामा ४ सय कागतीका बोट रहेका छन् । उहाँ यस वर्ष पनि २ सय विरुवा लगाउनको लागि खाडल र मल तयार गर्दै हुनुहुन्छ । उहाँ आगामी वर्षहरुमा बिरुवा थप्दै गएर आफ्नो कागती बगैंचामा १२ यस बोट बनाउने लक्ष्यमा हुनुहुन्छ । वीरबहादुरको कागतीको बगैंचा देख्दै रहर लाग्दो छ ।
कागती खेती लगाउँदा सुरुमा विरुवा हुर्काउन अलि बढि समस्याहरु आउने किसानहरुले बताएका छन् । कागती खेतीको लागि धेरै निगरानी र मिहिनेत आवश्यक हुने किसानहरु बताउँछन् । किसानहरुसँग काँधमाकाँध मिलाएर साथ दिन गाउँपालिकाका कृषि प्राविधिक एवम् कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हरपल आफुहरुलाई साथ दिएको किसानहरुको भनाइ छ । कागतीलाई रोगबाट र किराहरुबाट बचाउन प्राविधिक चौधरीको सल्लाहले गाईको गहुँत, बाख्राको मल लगायत स्थानीय स्रोतबाट नै विभिन्न जैविक औषधीहरु बनाउन थालिएको किसान मोहनराज लामाले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ५ को याङरिम कृषक समुह र वडा नम्बर ७ को मनकामना कृषक समुहका किसानहरुले पनि व्यावसायिक कागती खेती सुरु गरेका छन् । हाल मकवानपुरगढी गाउँपालिकामा फलफुल र तरकारीको व्यावसायिक खेति गर्ने किसानहरु बढिरहेका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पनि कृषि र पशुपालनलाई बढि प्राथमिकता दिएर ल्याउने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभएको छ ।