हेटौंडाः स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्था हिमाल मुटु नेपाल काठमाडौंले मकवापुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका ३ का विभिन्न टोलका चेपाङ तथा विपन्न १ सय १० परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलाँसे, सिउरानी, गाउँबारी, सानोदेवकोट, आलखोप, सरकारीडाँडा, केराबारी टोलका परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो । प्रतिपरिवार २५ किलो चामल, तेल २ लिटर, दाल, नुन, मस्यौरालगायत खाद्य सामाग्री वितरण गरिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका चेपाङ तथा विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरूमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलका अध्यक्ष डा. अवनकृष्ण गौतमले बताउनुभयो । २०७२ सालको भूकम्पपछि स्थापित हिमाल मुटु नेपालले विपत तथा महामारीमा देशको विभिन्न भागमा राहत सामाग्रीहरु प्रदान गर्दै आईरहेको र निकट भविष्यमै हेटौंडा उपमहानगरपालिका ६ रामनगरमा १५ शैयाको सिद्धस्थली ग्रामीण सामूदायिक अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढेको संस्थाकी व्यवस्थापक गोमा गौतमले बताउनुभयो ।

संस्थाले यसअघि हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाहरुमा लकडाउनमा दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको संस्थाले जनाएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो । खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सन्तराम चेपाङ, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, हिमाल मुटु नेपालकी उपाध्यक्ष डा. रिया शर्मा, कम्युनिटी हस्पिटलकी सदस्य डा. कन्चन दाहाल, गाउँपालिकाका प्रसाकीय अधिकृत युवराज आचार्यको पनि उपस्थिति रहेको थियो ।