वातावरणमा अनेक प्रकारका चुनौती हुँदा पनि मानिस त्यसबाट जोगिएर बाँचिरहेको हुन्छ । जीव जनावरदेखि प्राकृतिक विपत्तीबाट जोगिन अनेक प्रयास गर्दछ । कहिले कहीँ भवितव्य भई मर्नु स्वभाविक हो । प्रकृतिमा भएका अनेक चुनौती जस्तै अब कोरोनासँग पनि मिलेर तथा जोगिएर बाँच्नुको विकल्प छैन । कोरोना नयाँ सत्रुका रुपमा देखिएको छ मानव जीवनमा । त्यसैले सबै आत्तिएको अवस्था हो । तर वन, जंगलमा भएका हिंस्रक जनावर वा घर आँगनमै हुने सर्प, बिच्छि वा विषालु खाद्य वस्तुबाट बाँच्न सिके जस्तै कोरोनाबाट पनि जोगिनु पर्दछ । विश्वमा यो भाइरस देखिएको ६ महिना भई सक्दा उपचार पद्दति विकास हुन सकेको छैन । अर्बौंको संख्यामा रहेका मानिस मध्ये हालसम्म साढे चार लाखको मात्र मृत्यु भएको छ । यो मृत्युलाई भवितव्य भन्नुको विकल्प छैन ।
कोरोना भाइरसको महामारी कहिलेसम्म हुन्छ भन्ने अनुमान मात्र हो । त्यसैले यससँग भाग्ने भन्दा अब सँगै बाँच्नुको विकल्प छैन । कोरोनाबाट जोगिन जीवनशैलीमा परिवर्तन आवश्यक छ । जसरी अन्य जीव जनावरसँग होशियारी अपनाईन्छ त्यस्तै कोरोनासँग पनि होशियारी अपनाउनु पर्दछ । विश्वमा जस्तै नेपालीहरु पनि लामो समयसम्म घर भित्रै नबसेका होईनौं । तर लकडाउन सुरु हुँदा दुईजना कोरोना संक्रमित रहेकोमा करिव तीन महिना बन्दाबन्दीमा बस्दा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यसले बन्दाबन्दीले मात्र कोरोनालाई परास्त गर्न सकिँदैन भन्ने प्रमाणित भई सकेको छ । यसका लागि आफ्ना आनीबानी र चालचलनमा सुधार र परिमार्जन आवश्यक छ ।
नेपालमा कोरोनाको संक्रमण समुदायसम्म अझै नपुगेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा जति पनि संक्रमित देखिएका छन् सबै देश बाहिरबाट आएका हुन् । बढी मात्रामा भारतबाट नेपाल फर्किएकामा भाइरस संक्रमण देखिएको छ । भारत वा अन्य मुलुकबाट घर फर्किएकाहरुलाई उचित प्रबन्ध गर्ने हो भने यो महामारीबाट भागीरहनु पर्ने छैन । तर होशियारी अपनाउनै पर्दछ । अब परम्परागत खानपानदेखि जीवनशैलीले कोरोनाबाट जोगिन सकिँदैन । विश्व स्वास्थ्य संगठनले भनेका मापदण्डलाई पुरा गर्नु पर्दछ । सामाजिक जीवन नै ठप्प बनाएर व्यवहार चल्दैन । आर्थिक गतिविधि सहज बनाउनुको उपाय नभए पछि कोरोनासँगै बाच्ने कलाको विकास गर्नु पर्दछ । भोलीको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सामाजिक, राजनीतिक र आर्थिक गतिविधि जीवित राख्नु अनिवार्य छ । यसका लागि कोरोनासँग भाग्ने भन्दा पनि सँगै बाँच्ने प्रयास गर्नु पर्छ ।
कोरोना भाइरस मानिसबाट सर्ने भएकोले भिडभाड रोकिनु आवश्यक छ । यस्तै परिक्षणको दायरा बढाउन र नतिजा छिटो प्रकाशन गर्ने कुरालाई सरकारले प्राथमिकता दिनु आवश्यक छ । संक्रमितलाई उचित व्यवस्थापन र स्वास्थ्यकर्मीको उचित सुरक्षा प्रबन्ध गर्न सकिएमा कोरोना भाइरसलाई सामान्य रुपमा लिने वातावरण बन्न सक्छ । जसले आम नागरिकमा आत्मविश्वास बढ्ने छ । नेपालमा सामान्य लक्षण समेत नदेखिई कोरोना संक्रमण हुने गरेको छ । यसले संक्रमणको दर बढाउने खतरा छ । त्यसैले सबैसँग सबै नागरिक सचेत र सतर्क रहनुको विकल्प हुँदैन । हरेक पाईलामा सतर्कता अपनाउनु पर्दछ । सबैले एक अर्कालाई शंकाको दृष्टिबाट हेर्ने र दुरी कायम गरिनु पर्दछ । त्यसो भएमा कोरोनासँगै बाँच्न सकिन्छ । कोरोनासँगै बाँच्नुको विकल्प पनि छैन ।