देश संघीयतामा गएपछि देशमा तीन तहको सरकार छन्ः संघ, प्रदेश र स्थानीय तह । स्थानीय तहलाई जनताको घरदैलोको सरकार भनेर पनि चिन्ने गरिन्छ । संविधानले स्थानीय तहलाई धेरै अधिकार पनि दिएको छ । स्थानीय तहले पाएका धेरै अधिकारमध्ये माध्यमिक तहसम्मको शिक्षाको अधिकार पनि एउटा हो । संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तहले आफ्नो क्षेत्रका कक्षा १२ सम्म अध्ययन हुने शिक्षण संस्था र उक्त तहसम्मको शैक्षिक व्यवस्थापनका सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्नेछ । आधारभूत र माध्यमिक गरी मुख्य दुई तहमा विभाजन गरिएको हाम्रो शिक्षा प्रणाली र शैक्षिक व्यवस्थापनको पाटो समयसमयमा आलोचित बन्ने गरेको छ । आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको सबै व्यवस्थापनको जिम्मा अहिले स्थानीय तहलाई छ । स्थानीय तहहरुले आ–आफ्नो अनुकूलताअनुसार उक्त परीक्षा सञ्चालन र नतिजा प्रकाशनसमेतको काम गर्दै आएका छन् ।

यस वर्षको आधारभूत तह उत्तीर्ण परीक्षा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आइतबारबाट सुरु भएको छ । हेटौंडासँगै मकवानपुरका अन्य केही स्थानीय तहहरुले पनि आइतबारबाटै परीक्षा सुरु गरेका छन् । हेटौंडा उपमहानगर पालिकाको कक्षा ८ को परीक्षाको पहिलो दिनको प्रश्नपत्रमा केही त्रुटी पाइएको छ । त्यो भन्दा पनि रोचकचाहिँ हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका दुबैको प्रश्नपत्र एउटै रहेको छ । प्रश्नपत्र एउटै हुनु त्यति अनौठो नभए पनि मकवानपुरगढीले प्रयोग गरेको प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिका उल्लेख हुनुले धेरैलाई अचम्मित बनाएको छ । हेटौंडा उपमहानगरपालिकाले प्रश्नपत्रको सबैभन्दा माथि आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा २०८० लेखेर त्यसभन्दा तल हेटौंडा उपमहानगरपालिका लेखिएको छ । आइतबारको अनिवार्य गणित विषयको सोही प्रश्नपत्रलाई मकवानपुरगढी गाउँपालिकाले छाप्दा भने आधारभूत तह उत्तीर्ण परीक्षाको ठाउँमा मकवानपुरगढी गाउँपालिका बनाएर छापेको छ । प्रश्नपत्रको बाँकी सबै हेटौंडा र गढीको एउटै छ ।

परीक्षा आफैं एउटा प्राविधिक र संवेदनशील विषय हो । परीक्षा सञ्चालन गर्ने कुरा जति सजिलो देखिन्छ, त्यति नै गाह्रो छ । तोकिएको विधिविधान र मूल्यमान्यता अनुसार परीक्षा सञ्चालन गर्न सजिलो छैन । परीक्षा सञ्चालन भनेको विद्यार्थीलाई परीक्षा हलमा राखेर परीक्षा लिनुमात्र होइन । परीक्षाको समयतालिका निर्धारण गर्ने, तोकिएको ग्रिड र पाठ्यक्रमको मर्मबमोजिम स्तरीय प्रश्नपत्र निर्माण गर्ने, प्रश्नपत्रको गोप्यता कायम राख्ने, परीक्षालाई मर्यादित र अनुशासित बनाउने, विद्यार्थीले लेखेको उत्तरपुस्तिकालाई प्रभावकारी परीक्षणको व्यवस्था गर्ने र वस्तुनिष्ठ ढंंगबाट नतिजा तयार पारी सार्वजनिक गर्ने काम परीक्षा व्यवस्थापनभित्र पर्दछन् । परीक्षासम्बन्धी यी सबै काम गर्दा त्रुटीरहित बनाउनु अति आवश्यक छ । अझ प्रश्नपत्रमा त्रुटि हुनु भनेको कयौं विद्यार्थीको भविष्य अन्यौलमा पर्नु हो । प्रश्नपत्रमा सामान्य त्रुटी हुँदासमेत विद्यार्थी अलमलमा परेर उत्तर लेख्न नसकी अनुत्तीर्ण हुने गर्दछन् भने गम्भीर त्रुटी हुँदा त्यसले परीक्षाको औचित्य र विश्वसनियतामाथि नै गम्भीर प्रश्नचिह्न खडा हुने गर्दछ ।

स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन गर्ने भएपछि पालिकाभित्रका विद्यालयका विषयगत शिक्षकबाट स्तरीय प्रश्नपत्र निर्माण गराई छनोट गरेर परीक्षा लिन सकिने अवस्था सबैतिर छ । यति हुँदाहुँदै अर्को पालिकाको प्रश्नपत्र, त्यो पनि शीर्षकमै गल्ती छापेर परीक्षा लिनुलाई पालिकाको शिक्षा शाखाको जिम्मेवार अधिकारीको चरम लापरबाही मान्नुपर्छ । आफैं प्रश्नपत्र निर्माण नगरी परीक्षा चलाउनेले परीक्षाको अन्य प्रक्रिया सही ढंगले गर्लान् भन्ने विश्वास गर्न गाह्रो हुनसक्छ । यसले स्थानीय तहले लिने परीक्षाको स्तरीयता र विश्वसनियतामाथि आशंका बढाउने सम्भावना देखिएको छ । सबै स्थानीय तहले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षालाई त्रुटीरहित बनाएर सञ्चालन गर्नुपर्छ । परीक्षाको मर्यादा, विश्वसनियता कायम गर्दै विद्यार्थीको शैक्षिक भविष्य बिग्रन नदिन पालिका नेतृत्व गम्भीर बन्नु आवश्यक छ ।