हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको बिदाई गरिएको छ । सोमबार जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा एक कार्यक्रमबीच अध्यक्ष खड्गीलाई सम्मानपत्र प्रदान गर्दै बिदाई गरिएको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषदबाट २०७८ चैत ४ गते अध्यक्ष पदमा नियुक्त हुनुभएको खड्गीले लगनशील र इमान्दारीका साथ खेलकुदको नेतृत्वसँगै विकासको कार्यमा पुर्याएको योगदानको कदर गर्दै समिति तथा अन्य खेल संघहरुले सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा अध्यक्ष खड्गीले मकवानपुर जिल्लामा खेलकुद क्षेत्रमा वार्षिक १० करोड रुपैयाँ खर्च भइरहेको बताउनु भयो । राष्ट्रिय खेलाडीले सम्मान नपाएको र घाइते हुनेहरुले क्षतिपूर्ति र अन्य खर्चहरु नपाएको उहाँले जानकारी दिनुभयो । धेरै खर्च गर्नभन्दा अक्षयकोषमा लगानी गरेमा जीवनमा सबै खेलाडीहरुले भविष्यमा उपयोग गर्न पाउने अपेक्षा गरेर कोषको स्थापना गरेको उहाँको भनाइ छ ।

गत पुस ५ गतेदेखि १८ गतेसम्म सम्पन्न खेलकुद तथा व्यापार महोत्सवबाट आएको २० लाख रुपैयाँले अक्षयकोष निर्माण गरेर वार्षिकरुपमा ५० हजार रुपैयाँको दरले १० वर्षसम्म सहयोग गर्ने घोषणा गर्नुभएको छ । अक्षयकोष व्यवस्थापन गरेर खेलाडीहरुका लागि पनि केही गर्ने उद्देश्यले सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।

२०७९ चैत २७ गतेदेखि बैशाख १ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका खेलाडीहरु पहिलो पटक १ सातासम्म बन्द प्रशिक्षणमा सहभागी गराएको बताउनुहुँदै १३ औँ संस्करणको प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाले तृतीय स्थान हासिल गर्न सफल भएको बताउनुभयो । गत असारमा १३ औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको पदक विजेता खेलाडीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

१४ औँ संस्करणको प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका करिब ९८ खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाको सहयोगमा १ साता बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । यस्तै, विभिन्न संघ, नगरपालिका, गाउँपालिका, वडा तथा क्लबहरुसँग सहकार्यमा प्रदेश खेलकुद विकास परिषदबाट ५ लाख रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै, एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा सहभागी हुने खेलाडी रोशनी घलानलाई ८ हजार रुपैयाँसहित सम्मान गरिएको उहाँले बताउनुभयो ।

खेल क्षेत्रमा लागेपछि व्यक्तिहरुले राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकास गर्नका लागि बजेटलाई चलायमान गर्न, आर्थिक उन्नति गर्न र बजेट राम्ररी व्यवस्थापन गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । खेलकुद क्षेत्रमा लगानी गर्ने बजेट खेलकुदमा भन्दा अन्य क्षेत्रमा बढी लगानी भएमा खेलकुद क्षेत्रको विकासमा कम टेवा पुग्ने उहाँको भनाइ छ ।

बिदाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले आफ्नो कार्यकालभरी खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने कार्यमा निस्वार्थ भावनाले लागेकोमा खुशी व्यक्त गर्नुभयो । खड्गीको नेतृत्वले मकवानपुर जिल्लाभित्र खेलकुदको धेरै विकास भएको उहाँको भनाई छ ।

कार्यक्रममा पूर्वनगरप्रमुख हरिबहादुर महत, नगर खेलकुदका निवर्तमान अध्यक्ष चन्द्र शाही, जिल्ला खेलकुदका पूर्वअध्यक्ष सानु लामा, वडा–१ का अध्यक्ष सविन न्यौपाने, वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–११ का अध्यक्ष जुना दहाल, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्य र सितोरियो कराँते संघका अध्यक्ष दीपक बहादुरको पनि उपस्थिति रहेकोे ।