बालमैत्री विद्यालय घोषणाअन्तर्गत प्रतिवद्धता जनाउँदै हस्ताक्षर गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हटियाः हेटौँडा–१६, हटियास्थित जनप्रिय मावि बालमैत्री विद्यालय घोषणा भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक कार्यक्रमका बीच विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्नुभएको हो ।

जनप्रिय मावि हेटौँडा उपमहानगरको पहिलो बालमैत्री विद्यालय घोषणा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले मानव विकासको जग नै बालविकास भएको बताउनुभयो । बालबालिकाको चौतर्फी विकास नभए समाज र देशको विकास हुन नसक्ने उहाँको भनाई छ । छिटै हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने क्रममा रहेको बताउनुहुँंदै उहाँले अब अन्य विद्यालयहरुले पनि घोषणा गर्न लाग्नुपर्ने बताउनुभयो ।

विद्यालय प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले जनप्रिय बाल समुहले सञ्चालन गरेका शैक्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयमा बाल समूहलाई प्रभावकारी र व्यवस्थित बनाउन शैक्षिक गतिविधिसँग जोडिँदै कार्यहरु गर्दै आइरहेको बताउनुभयो । यसका लागि विद्यालयमा बाल समूहको गठन र वडा तहमा बाल समूह सञ्जाल निर्माण गरेको उहाँले बताउनुभयो । यसले विद्यार्थीमा बाल अधिकार, संविधानका निर्देशित हक अधिकारका बारेमा सुसूचित हुने अवसर पाएको उहाँले बताउनुभयो । विद्यालयले बालविवाह अन्त्यका लागि सचेतना र जनजागरणमूलक र्याली, भित्ते लेखन र प्रविधिमैत्री बाल कक्षाको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।

बाल समूहकी अध्यक्ष सृष्टि अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला र राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्ण घिमिरे लगायतको आतिथ्य रहेको थियो ।