फाइल तस्वीर ।

हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी चैत २ गतेबाट आधारभूत तह कक्षा ५ र ८ को परीक्षा सञ्चालन गर्दैछ । पालिकाभित्र कक्षा ८ पाठनपाठन हुने १५ विद्यालय र कक्षा ५ सम्म पठनपाठन हुने १७ विद्यालयमा एकै साथ परीक्षा सञ्चालन हुन लागेको पालिकाका शिक्षा शाखाका प्रमुख प्रमोद राईले जानकारी दिनुभयो ।

परीक्षाका लागि गाउँपालिकास्तरीय शिक्षक समितिको फागुन ६ गतेको निर्णयअनुसार परीक्षा तालिका पनि सार्वजनिक भइसकेको छ । परीक्षाको पहिलो दिन दुबै कक्षाको अङ्ग्रेजी, ३ गते गणित, ४ गते नेपाली, ५ गते विज्ञान, ६ गते सामाजिक अध्ययन, ७ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र अन्तिम दिन ८ गते बागमती गाउँपालिकाको परिचय विषयक परीक्षा हुनेछ । पालिकाभर कक्षा ५ को परीक्षामा ६ सय ८९ र कक्षा ८ मा ६ सय २९ जना विद्यार्थीहरु सहभागी हुने प्रमुख राईले बताउनुभयो ।