हेटौँडाः आइतबार साँझदेखि नै सत्ता समीकरणमा फेरबदलको चर्चा सामाजिक सञ्जालमा तीव्र बन्दै गएको थियो । आइतबार रातीसम्ममा पनि कुनै स्पष्ट नतीजा नआउँदा अफवाह हो कि भन्ने आम बुझाई रह्यो । तर, सोमबार बिहानैदेखि सत्ता समीकरण फेरबदलका ठोस संकेत स्पष्ट हुँदै जाँदा दिनभरका संघीय सरकारमा नयाँ गठबन्धन तयार भयो । नयाँ गठबन्धनको तीव्र प्रगतिले सोमबार साँझ ५ बजे नयाँ गठबन्धनसहित प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुनर्गठन गर्दै गर्दा जिल्लामा भने नेता, कार्यकर्ताहरुले पछिल्लो परिवर्तनलाई आआफ्नै शैलीमा व्याख्या गर्ने र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्न व्यस्त देखिन्थे ।

नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा पछिल्लो घटनाक्रम प्रधानमन्त्री दाहालको सत्तास्वार्थ ठान्नुहुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल राजनीतिक अस्थिरता निम्त्याउने खेलाडी भएको लामाले प्रतिक्रिया दिनुभयो । “पछिल्लो राजनीतिक घटनाक्रम प्रचण्डले खेल खेलेको हो । काँग्रेससँगको वाचाअनुसार सत्ता हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै गर्दा आफ्नो पद जोगाउन र सत्ता हस्तान्तरण नगरी आफ्नो स्वार्थ पूरा गर्ने प्रधानमन्त्री दाहालले नयाँ गठबन्धन निर्माण गरे”, अध्यक्ष लामाले भन्नुभयो, “मन्त्रीलाई हटाउने निहुमा आफ्नो कार्यकाल लम्ब्याउने, ५ वर्षे कार्यकाल पूरा गर्ने रणनीति मात्रै हो ।”

अबको सत्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियन्त्रणमा रहने दावी गर्नुहुँदै लामाले भन्नुभयो, “संघीयता र संविधानलाई नष्ट गर्ने प्रयासमा गरेका, राष्ट्रपतिसँग मिलेर राजनीतिक उपलब्धीलाई नष्ट गर्ने प्रयासलाई प्रचण्डले बिर्सेर आफ्नो स्वार्थ पूरा गर्न लाग्नुभयो । यो पनि लामो समय टिक्दैन ।” राजनीतिक घटनाक्रमलाई लिएर नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा संवेदनाहिन भएर टिकाटिप्पणी गर्न जरुरी नभएको पनि लामाले स्पष्ट पार्नुभएको छ । “राजनीतिक विश्लेषण गर्न नसक्ने, पार्टीभित्र पनि घुसपैठ भएको छ । राजनीतिमा दुख नगरेका, चिन्तन् नगरेका, पैसाको भरमा, आउने बित्तिकै टिकट, नियुक्ति पाउनुपर्ने भन्नेहरुले पार्टीभित्र र बाहिर पनि राजनीतिकरुपमा गलत व्याख्या गरिरहेका छन्”, लामाले भन्नुभयो, “प्रदेशमा पनि केन्द्रको निर्देशनअनुसार नै नयाँ राजनीतिक समीकरण बन्नेछ ।”

यस्तै नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठ सोमबारको राजनीतिक घटनाक्रम अस्वभाविक र आकस्मिक भएको बताउनुहुन्छ । सोमबार बिहानैदेखिको हल्ला र अनलाइनहरुमा आएका समाचारले समेत निश्चित हुन नसकेको उल्लेख गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य समेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “सोमबार साँझ नयाँ गठबन्धनअनुसार मन्त्रिपरिषद् पुनर्गठन भएर नयाँ मन्त्रिहरुले सपथ ग्रहण गरेपछि मात्रै निश्चित भएँ ।” केन्द्रीय सरकारमा नयाँ गठबन्धनअनुसार नै प्रदेश सरकारको संरचनामा पनि फेरबदल हुने स्पष्ट पार्नुहुँदै श्रेष्ठले पार्टी केन्द्रको निर्देशनअनुसार नै प्रदेशमा आफूहरुले काम गर्ने बताउनुभयो ।

श्रेष्ठले पनि पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा व्यक्तिगत धारणाभन्दै सर्वसाधारणमा नकारात्मक प्रभाव पर्ने गरी निराशाजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ । पार्टी र संगठनको जिम्मेवारीमा रहेकाहरुले जिम्मेवार भएर बोल्न र लेख्न श्रेष्ठले आग्रह गर्नुभएको छ ।