नेपाल सरकारले आइतबारबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । देशभर सुरु भएको यो अभियान चैत ७ गतेसम्म सञ्चालन हुने भए पनि मकवानपुर जिल्लामा फागुन १९ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । आइतबार हेटौंडा–९ को रस्सल एकेडेमी खोप केन्द्रमा खोप अभियानको शुभारम्भ गरिएको छ । ९ नम्बर वडा अध्यक्ष सुकराम केसीले कार्यक्रमको शुभारम्भ गरेका हुन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक ललित घलानको प्रमुख आतिथ्य र मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको विशिष्ट आतिथ्यमा अभियान सुरु भएको हो । आगामी शनिबारसम्म मकवानपुरको ५ सय २० वटा खोप केन्द्रबाट ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । खोप कार्ड भएमा पहिले लगाउन छुटेका हेपाटाइटिस बी, धनुष्टंकार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोपसमेत लगाइने भएको छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो । दादुरा रोग मिजल्स भाइरसको कारणबाट हुन्छ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरुमा संक्रमण गर्छ, जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराबाट आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमणजस्ता जटिलता उत्पन्न हुनुका साथै मृत्युसमेत हुनसन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पु¥याइदिन्छ । रुबेला पनि रुबेला भाइरसकै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । रुबेला रोगको असरहरु दादुराभन्दा सामान्य भए पनि गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलाङ्गहरु देखा पर्न सक्दछ । रुवेलाबाट हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमणसमेत हुने गर्दछ । श्वासप्रश्वासबाट सर्ने दादुरा–रुबेला संक्रमण भएमा ज्वरो आउने, शरीरमा राता बिमिरा देखापर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने र पाक्नेजस्ता लक्षण देखिने गर्दछ । दादुरा–रुबेला रोग विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने भए पनि कुनै पनि उमेरका मानिसलाई लाग्न सक्छ । दादुरा कोभिड–१९ भन्दा पनि तिब्र संक्रमण हुने भएकाले छिट्टै महामारीको रुप लिन सक्दछ । रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरु हुने सम्भावना पनि बढाउँछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलता हुनका साथै मृत्युसमेत हुनसक्छ । दादुरा–रुबेला रोग लागेपछि यसको खास उपचार छैन । यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै लक्षणअनुसार र जटिलताकोे उपचार गर्नुपर्दछ । यो रोगबाट बचाउन खोप नै प्रभावकारी मानिएको छ ।

दादुरा–रुबेला खोप भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइनेछ । अन्य जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । ९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३१ हजार र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार गरी ५७ लाख ४३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य छ । खोप लगाएपछि बालबालिकालाई ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिए पनि आत्तन नपर्ने बताइएको छ । सरकारले सन् २०१८ मा दादुरा– रुबेलालाई नियन्त्रण गरे पनि सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्दै आएको छ । अभियानमा लक्षित बालबालिका सबैलाई खोप लगाउन सकेमा सरकारले राखेको लक्ष्य पूरा हुने र दादुरा–रुबेलाबाट बालबालिकालाई बचाउन सकिएमा खोप अभियानको सार्थकता हुनेछ ।