हेटौँडाः किसानले दुधको भुक्तानी माग गर्दै राजमार्ग अवरुद्ध गर्ने भएको छ । ६ महिनादेखि सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी डेरीले किसानसँग खरिद गरेको दुधको रकम भुक्तानी नगरेको भन्दै आउँदो बिहिबार किसानले देशव्यापी विरोध कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि राजमार्ग अवरुद्ध गर्ने भएको छ ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सोमबार एक विज्ञप्ति जारी गर्दै केन्द्रको आव्हानमा देशव्यापी कार्यक्रमअन्तर्गत विरोध र्‍याली र राजमार्ग अवरुद्ध गरिने जनाएको छ । हेटौँडा बजारको चारक्षेत्रबाट विरोध र्‍याली निकालिने भएको छ । उत्तरतर्फ चौकीटोल, दक्षिणतर्फ कर्रा पुल, पूर्वतर्फ सानोपोखरा र पश्चिमतर्फ राप्ती पुलबाट बिहान ११ बजे विरोध र्‍याली निकालिने बताइएको छ ।

यसअघि संघका पदाधिकारीले सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आफ्ना माग पूरा गर्न ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईमार्फत प्रधानमन्त्रीलाई संघका पदाधीकारीहरुले ८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुसँग विगत ६ महिनादेखि रोकिएको सम्पूर्ण रकम यथाशिघ्र भुक्तानीको व्यवस्था गर्न, किसानहरुले भोगिरहेको मिल्क होलिडे तुरुन्त रोकिनु पर्ने, अनियमित ढंगबाट अन्य मुलुकहरुबाट आयातित दुग्धजन्य पदार्थहरुको आयात पूर्णरुपमा अबिलम्ब बन्द गर्नुपर्ने, दुग्ध उत्पादक किसानहरुलाई सहुलियत कृषि कर्जा यथाशिघ्र दिने व्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादनमा लागत मूल्य घटाउन दिँदै आएको प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने व्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक सहकारी संस्थामार्फत पशु बीमा गर्ने व्यवस्था मिलाउनु पर्ने, दुग्ध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि खोरेत लगायत रोगमुक्त घोषणा गर्नुपर्ने संघको माग रहेको छ ।

संघले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा विहान १० बजेदेखि १२ बजेसम्म धर्ना, विरोध तथा ज्ञापनपत्र बुझाउने जनाएको छ । फागुन २१ गतेदेखि माईतीघर मण्डलामा माग पूरा नभएसम्म धर्ना तथा विरोध प्रदर्शन गर्ने जनाएको छ । केही समयअघि बामगती प्रदेशभरका दुग्ध उत्पादक संघले कृषि विकास निर्देशनालयमा नै तालाबन्दी गरेर बिरोध प्रदर्शन गरेका थिए ।