हेटौँडाः हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजना, सरोकारवाला निकायको साथ र सहयोगमा भोलि शनिबार र पर्सी आइतबार दुईदिन हेटौँडामा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिँदैछ । सम्मेलनमा भारत र नेदरल्याण्डबाट विज्ञ वक्ताहरुको सहभागिता रहनेछ भने नेपालबाट पनि विज्ञ वक्ताहरुको सहभागिता रहनेछ । सम्मेलनमा नवप्रवर्तनमा क्रियाशील प्रतिनिधि उद्यमी, व्यवसायीले आफ्नो व्यावसायिक प्रस्तुती पनि राख्नेछन् ।

नवप्रवर्तन र उद्यमशीलताको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनुलाई सकारात्मकरुपमा लिनुहुँदै सबैको साथ र सहयोगको आवश्यकता रहेको मान्नुहुन्छ उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेल । सम्मेलनमा सहभागी भएर विज्ञका कुरा सुन्ने, अनुभव साटासाट गर्ने, व्यावसायिक सञ्जाल निर्माण गर्ने, सञ्जाल विस्तार गर्ने अवसरको रुपमा रहने प्याकुरेल बताउनुहुन्छ । “हेटौँडामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना हुनु सकारात्मक हो र यसलाई सबैले साथ र सहयोग गर्नुपर्छ”, सहआयोजक उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष समेत रहनुभएका प्याकुरेल भन्नुहुन्छ, “सम्मेलनको सफलताका लागि सबैको साथ जरुरी छ, एउटा शैक्षिक संस्थाले गर्न लागेको कार्यक्रममा हामीले उर्जा भरिदिनुपर्छ ।”

सम्मेलनमा सहभागी हुने विदेशी वक्ता बिहिबार नै काठमाडौं आइसकेका छन् भने शुक्रबार हेटौँडा आइपुग्ने आयोजक समितिको सचिवालयमा क्रियाशील हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्राध्यापक निरज श्रेष्ठ । सम्मेलनमा सहभागी भएर नवप्रवर्तन र उद्यमशीलताबारे जान्न, बुझ्न एक सय भन्दा बढी सहभागी हुने उहाँ बताउनुहुन्छ । सम्मेलनमा १५ जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका शैक्षिक निर्देशक दिपेश जोशी अन्तर्राष्ट्रिय सम्मेलनबाट स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीले नवप्रवर्तन र उद्यमशीलताबारे स्पष्ट बुझाईको अवसर रहने बताउनुहुन्छ । विद्यार्थीसँगै क्रियाशील उद्यमी, व्यवसायीलाई पनि आफ्नो व्यवसायलाई नयाँ ढंगबाट सञ्चालन र व्यवस्थापनबारे जान्ने अवसर रहने अपेक्षा गर्नुहुन्छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले ३ वर्षअघि व्यावसायिक योजना र त्यसको कार्यान्वयनका लागि विजशालाको अभ्यास सुरु गरेको उल्लेख गर्नुहुँदै जोशीले भन्नुभयो, “विजशालामा सहभागी भएर व्यावसायिक योजना बनाउने र कार्यान्वयन गर्ने विद्यार्थीलाई समेत सहभागी गराएर उनीहरुसहित नयाँ विद्यार्थी र उद्यमीहरुलाई समेत अझ सक्रियताका साथ लाग्न प्रोत्साहित गर्न सम्मेलन सफल हुनेछ ।”

पहिलो वर्ष विजशालामा सहभागी भएका ५ वटा योजनामध्ये एउटा स्थापित भएको, दोस्रो वर्ष ७ वटा योजनामध्ये ३ वटाले व्यावसायिक सफलता हासिल गर्न सुरु गरेको जोशीको भनाइ छ । अहिले पनि ९ वटा समूहले व्यावसायिक योजना बनाएर कार्यान्वयन गरिरहेको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवको विश्लेषण हुने अपेक्षा गरिएको छ ।

सम्मेलनका संयोजक दिपेश खनाल छिमेकी मुलुक भारतमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न सुरु गरेको १५ वर्षको अवधिमै उल्लेखनीय उपलब्धी हासिल भएको स्मरण गर्नुहुँदै नेपालमा पनि नवप्रवर्तन र उद्यमशीलताको विषयमा अन्तर्राष्ट्रियस्तरमै बहस गरेर उपयुक्त योजना बनाउन आवश्यक रहेको बताउनुहुन्छ ।