हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक आज आइतबार बस्ने भएको छ । आज दिउँसो २ बजेको लागि बैठक डाकिएको छ । त्यस्तै बैठक बस्नु अघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको छ ।

आज बस्ने बैठकमा विधेयकहरु पनि भएकाले कुन–कुन विषयले प्रवेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि तय हुने उहाँले जानकारी दिनुभयो । जेठ १३ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रदेश सरकारले भोलि सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । बजेट प्रस्तुत हुनु पूर्व आज बस्ने प्रदेश सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र छलफल हुने जनाइएको छ ।

बागमती प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि चालू वर्षको भन्दा नघट्ने बजेट गरी बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र उद्योगलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको योजना सबै मन्त्रालयले पेश गरेका छन् । प्राथमिकताको आधारमा अनावश्यक योजना तथा कार्यक्रमहरु काँटछाँट गर्ने कार्य भैरहेको प्रदेशको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अहिले योजनाका विषयमा छलफल भैरहेको अर्थ मन्त्रालयका सुचना अधिकारी प्रमोद सिम्खडाले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयले प्रदेशका मन्त्रालयको योजनाहरु संकलन गरेर एकीकृत गरिरहेको जनाएको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले कृषि, स्वास्थ्य र उद्योगमा प्राथमिकता दिए पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट सबैभन्दा बढी बजेट आउने जनाएको छ । त्यस्तै प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट क्रमशः बढी आउने भएको हो । गत वर्षको तुलनामा प्रदेशको कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई बढी बजेट विनियोजन गरिने मन्त्रालयको स्रोतले बताएको छ ।