मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर विश्व रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रमसहित रक्तदानको महत्वबारे जानकारी दिने खालका र्‍याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु गरिने भएपनि यो पटक मुलुक लकडाउनका कारण रक्तदान मात्र हुने भएको छ । विश्व रक्तदाता दिवसको सन्दर्भमा रक्तसंचार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालसँग समाज संवाददाता सुसन लामिछानेले गरेको कुराकानीः

टंक दाहाल, प्रमुख
रक्तसञ्चार केन्द्र हेटौंडा

समाजः आज विश्व रक्तदाता दिवस । मकवानपुरमा कसरी मनाउँदै हुनुहुन्छ ?
दाहालः लकडाउनको परिस्थतिले आज कुनै विशेष कार्यक्रम आयोजना गरिएको छैन । विश्व रक्तदाता दिवसको अवसरमा आज चौघडामा रक्तदान कार्यक्रम हुँदैछ । बितेका वर्षहरुमा हामीले रक्तदाताहरुलाई सम्मान गर्ने, विद्यालय, कलेजका विभिन्न रक्तदान आयोजना गर्ने संघ, संस्थाहरुलाई पनि सम्मान गर्ने र रक्तदान गर्न उत्प्रेरणा गर्ने कार्यक्रमहरु गरेर यो दिवस मनाउने गरेका थियौं ।

समाजः मकवानपुर जिल्लामा रक्तदाताहरुको अवस्था कस्तो छ ?
दाहालः हाम्रा रक्तदाताहरु धेरै छन् । विशेष इमर्जेन्सी अवस्थामा रक्तदान गर्नेको संख्या राम्रो छ । रगतको अभाव भएको समयमा रक्तसंचार केन्द्रमै आएर रक्तदान गर्ने अनकल डोनर १ सयदेखि १ सय ५० जना छन् । उनीहरुले रगत अभाव भएको समयम आएर रक्तदान गर्ने गरेका छन् ।

समाजः मकवानपुरमा के गर्दा रक्तदान कार्यक्रममा सहजता हुनसक्छ ?
दाहालः विशेषगरी विभिन्न संघ, संस्था, कलेज लगायत कार्यालयहरुमा रक्तदान गर्नुपर्छ भन्ने अभिप्रेरणाका कार्यक्रमहरु लैजान सकेमा राम्रो हुने देखेको छु । रक्तसंचार केन्द्रले नै विभिन्न प्रेरणात्मक कार्यक्रमहरु संघ–संस्थामा लिएर पनि गएको छ ।

समाजः कुन–कुन स्थानमा रगत खपत हुँदै आएको छ ?
दाहालः हामीले संकलन गरेको रगत हेटौंडामै बढी खपत हुने गरेको छ । त्यस्तै चितवनमा पनि खपत हुने गरेको छ । दैनिक रगत हाल्नु पर्ने भएका बिरामी धेरै रहेकोले रगतको माग बढी छ । हेटौंडाको मागलाई यहाँ संकलन भएकोले पुगेको छ । बढी भएको रगत अन्य आवश्यक स्थान पठाउने गरेका छौं ।

समाजः लकडाउनको समयमा रक्तदानको अवस्था कस्तो छ ?
दाहालः यो समयमा रक्तदानका कार्यक्रमहरु कम भएका छन् । विभिन्न संघ, संस्थाका पदाधिकारीहरुले केन्द्रमै आएर रक्तदान गर्नुभएको छ । कोरोनाको संक्रमण बढ्दै गएकोले बाहिर सार्वजनिक कार्यक्रम आयोजना भएको छैन ।

समाजः रक्तदाता दिवसको अवसरमा आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
दाहालः रक्तदान जिवनदान हो । तपाईको रगतले कसैको जिवन बाँच्छ । रक्तदान नगरे पनि पिसाबको माध्यमबाट रगत खेर जान्छ । रगत दिएर शरीरमा रगत कमी हुने होइन । यो ३ महिनामा घटिरहन्छ । १८ वर्षदेखि ६० वर्षसम्मका सबैले केन्द्रमा नै आएर पनि रगतदान गर्न सक्नुहुन्छ । अन्त्यमा आज परेको विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरका सम्पूर्ण रक्तदाता, रक्तदान गर्न सहयोग गर्ने विभिन्न संघ, संस्थाहरुलाई हार्दिक शुभकामना एवम् धन्यवाद व्यक्त गर्न चाहन्छु ।