सूचना प्रविधिको सहजता र सामाजिक सञ्जालहरुको व्यापकतासँगै मानिसमा पत्रपत्रिका तथा म्यागेजिनसहित सबै प्रकारका पुस्तकहरु पढ्ने बानी कम हुँदै गएको छ । पढ्ने बानीमा आइरहेको ह्रासबाट विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी पनि अछुतो छैनन् । विद्यार्थी, शिक्षक, कर्मचारी, साहित्यकार, पत्रकार, कलाकार, राजनीतिज्ञ, व्यवसायी, विभिन्न पेसाकर्मी सबैलाई पठनपाठनको उत्तिकै महत्व छ । आफ्नो वृत्ति विकास तथा नवीन ज्ञान प्राप्त गर्नका लागि सान्दर्भिक विषयवस्तु र पुस्तक पढ्नु अत्यावश्यक भए पनि पछिल्लो समय पढ्ने बानीका साथै पढ्नुपर्छ भन्ने भावनासमेत कमजोर बनिरहेको छ । विशेषगरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अध्ययन गरेरै निर्धारित परीक्षा उत्तीर्ण गर्नुपर्ने विद्यार्थीमा समेत पठन संस्कृतिको ह्रास हुँदै जानु चिन्ताजनक मान्नुपर्छ । आमरुपमा सचेतना र साक्षरता बढ्दै गए पनि पुस्तक पढ्ने संस्कृति हराउँदै गएकोमा सचेत नागरिक चिन्तित बन्नुपर्ने देखिएको छ ।
हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले पठन संस्कृतिको विकासका लागि सक्दो प्रयास गर्दै आएको छ । दैनिकको १४ औं वार्षिकोत्सवको अवसरमा हेटौंडा अस्पताललाई पुस्तक हस्तान्तरण गरेर पठन संस्कृतिको प्रवद्र्धनमा थप कदम बढाएको छ । विगतका वर्षहरुमा पनि वार्षिकोत्सवमा आमन्त्रित अतिथि र सहभागीलाई एक–एक वटा पुस्तक उपहार प्रदान गर्ने गरेको थियो । १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेर दैनिकले २५ हजार रुपैयाँ बराबरको करिब एक सय वटा पुस्तक हेटौंडा अस्पताललाई सहयोग गरेको हो । अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई अध्ययनको अवसर प्रदान गर्नुका साथै पठन संस्कृतिको समेत विकास हुने अपेक्षासहित अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । वार्षिकोत्सवमा आयोजित चियापन कार्यक्रममा सहभागी हुने आमन्त्रित अतिथिहरुले पनि अस्पतालमा पुस्तक हस्तान्तरण कार्यक्रमप्रति समर्थन जनाउँदै एक सय थान पुस्तक हस्तान्तरण गरेका छन् । पठन संस्कृतिको विकासकै लागि विद्यालय तहका विद्यार्थीलाई नियमित समृद्ध समाज दैनिक पढाउने अभ्याससमेत गरिँदै आएको छ ।
सबै साक्षर व्यक्तिले आ–आफ्नो आवश्यकता र रुचिअनुसारको पुस्तक पढ्नु आवश्यक हुन्छ । फुर्सदको हरेक पलमा समेत मानिसले पुस्तकलाई साथी बनाउन सकेमा त्यसबाट प्राप्त हुने ज्ञान तथा सन्तुष्टिले मानिस समृद्ध बन्दै जान्छ । पुस्तक पढ्ने बानीको विकास हुँदै जाँदा व्यक्तिमा पढ्ने इच्छा वा भोक पनि बढ्दै जान्छ । हरेक पुस्तक आफैंमा ज्ञानको भण्डार हो । दिनहुँजसो नयाँ–नयाँ साहित्यिक कृति तथा विभिन्न उपयोगी पुस्तकहरु थपिइरहेका हुन्छन् । यसले गर्दा पढ्न चाहनेका लागि पुस्तकको अभाव हुँदैन । एउटा पुस्तक पढेर नसक्दै अर्को नयाँ पुस्तक थपिइसकेको हुन्छ । छापिएका र आफूलाई आवश्यक भएका सबै पुस्तक पढ्ने सहजता नभए पनि इच्छाशक्ति भएमा पढ्ने पुस्तकको अभाव हुँदैन । उपयुक्त पुस्तक पसलबाट खरिद गरेर, विभिन्न पुस्तकालयमा गएर वा पठनपाठनप्रति रुचि भएका साथीभाइ, आफन्तसँग साटफेर गरेर पनि पढ्ने पुस्तक जुटाउन सकिन्छ ।
फुर्सदको समयमा बालबालिकादेखि बृद्धबृद्धासम्म मोबाइल वा टिभीमा रमाउने क्रम बढ्दै गएका कारण पुस्तकबाट टाढिँदै गएको यथार्थ हो । पठन संस्कृतिको विकासका सार्वजनिक सेवा प्रवाह गर्ने हरेक निकायमा पुस्तक पढ्ने व्यवस्था हुनुपर्छ । समृद्ध समाजले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको पुस्तकलाई अस्पतालका विभिन्न वार्डमा भर्ना भएर सञ्चो हुँदै गएका बिरामी तथा बिरामीको हेरचाह गर्ने कुरुवाले सहजरुपमा पढ्न सक्ने व्यवस्था हुनुपर्छ । पठन संस्कृतिको विकास नभएसम्म समाजको वास्तविक रुपान्तरण हुन नसक्ने भएकाले महत्वपूर्ण ज्ञानको भण्डार पुस्तक तथा पत्रपत्रिका पढ्ने बानीको विकास आवश्यक छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले संसारै त्यसैमा रहेको ठान्ने गरे पनि यथार्थ त्यस्तो हुँदैन । सामाजिक सञ्जालहरुमा आउने समाचार तथा सूचना सतहीरुपमा आउँछन् । सामाजिक सञ्जालका सूचना विश्वसनीयसमेत हुँदैनन् । हातमै रहेको मोबाइलबाट प्रारम्भीक र छोटो जानकारी पाउन सकिए पनि आफ्नो ज्ञानको दायरालाई व्यापक बनाउन र विस्तृत जानकारी हासिल गर्न पत्रपत्रिका वा पुस्तक पढ्नु आवश्यक हुन्छ ।