हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा चौथो संस्करणको अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट मनहरी–७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले गर्नुभएको हो ।
प्रतियोगितामा मनहरीका ९ वटा वडाका टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा ८ नम्बर वडाले विजयी सुरुवात गरेको छ । ८ नम्बर वडा ले ९ नम्बर वडालाई १–० गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । ८ नम्बर वडाको लागि रुपेश स्याङ्तानले खेलको अन्तिममा गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ दि म्याच स्याङ्तान नै घोषित भएका छन् । म्यान अफ म्याच हुन सफल भएका स्याङ्तानलाई पालिका अध्यक्ष रञ्जन कालाखेतीले २ हजार रुपैयाँ प्रदान गर्नुभयो ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताअन्तर्गत् आज आइतबार पहिलो खेल ५ र ६ नम्बर वडाबीच हुनेछ भने दोस्रो खेल १ र ७ नम्बर वडाबीच हुने आयोजक मनहरी गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।