उपाधिसाथ बकैया युथ क्लबका खेलाडीहरु ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि बकैया युथ क्लबले जितेको छ । हेटौँडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा पञ्चशील युवा क्लबलाई ४–० गोलअन्तरले हराउँदै बकैयाले उपाधि हात पारेको हो । छनोट प्रतियोगिताको उपाधि विजेता र उपविजेता दुबै टिमले आगामी जिल्ला लिग फुटबल प्रतियोगिता खेल्नेछ ।

जिल्लास्तरीय क्लबको मान्यतासहित जिल्ला लिग खेल्ने नयाँ टिम छनोटका लागि प्रतियोगिता आयोजना गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । आगामी जिल्ला लिगदेखि पुछारका दुई टिम जिल्लास्तरीय लिगमा पनि घटुवा (रेलिगेसन) मा पर्नेछ । शनिबार सम्पन्न फाइनल खेलमा बकैयाको तर्फबाट पहिलो हाफमा अभिषेक भोलनले टिमलाई आग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफमा भोलनले नै थप एक गोल गर्दै अग्रतालाई कायम राखेका थिए । दोस्रो हाफमै सुजन गुरुङ र छेवाङ लामाले समान १–१ गोल गर्दै टिमलाई सहज जित दिलाएका छन् । म्यान अफ द म्याच बकैयाबाट सुजन गुरुङ घोषित भए । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको सभाध्यक्षता तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको छ । पुरस्कार वितरण कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, बकैया खेलकुद विकास समिति अध्यक्ष विजय लामा थिङलगायतको उपस्थिति रहेको थियो ।

बुधबार भएको सेमिफाइनल खेलमा पञ्चशील युवा क्लबले जनहित युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने बिहीबार भएको सेमिफाइनल खेलमा बकैयाले जनप्रवाह युवा क्लबलाई १०–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघका सदस्य आलोक स्याङ्तानको संयोजकत्वमा प्रतियोगिता भएको हो ।