कोरोना महामारीका कारण २०७६ साल चैत्र ६ गतेदेखि नै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन् भने चैत्र ११ गतेबाट लकडाउन नै सुरु भयो । यो समयमा देशका ७० लाख बालबालिकाहरु घरमै बसिरहेका छन् । यो समय अनलाइन शिक्षा सुरु गर्ने उपयुक्त समय हो भन्नै धेरै ठाउँबाट आवाज उठिरहेको थियो । तर हेटौंडाकै राम्रा गनिएका स्कुलहरुले चुनौति खेप्नु परेको अनुभव सुनाएका थिए । हेटौंडाकै अभिभावकहरुलाई समेत आफ्ना नानीहरुलाई अनलाइन कक्षामा सहभागिता गराउन मुस्किल परेको थियो सुरुसुरुमा ।

सीएम रिमाल

कतिपय विद्यालयले आफ्नो वार्षिक परीक्षा लिन पाएनन्, कतिले एकै दिनमा दुइटा परीक्षा लिएर सक्न बाध्य भए त कतिको एक दुई विषयको परीक्षा लिन बाँकी नै थियो । त्यस्तै कुनै कुनै विद्यालयमा आधारभूत तहको परीक्षा नै भएन । अनि कुनै कुनैमा पहिलो र दोस्रो परीक्षाका आधारमा नतिजा निकालियो । यसरी हेर्दा वास्तविक मूल्याङ्कन नभएकै देखिन्छ ।

के हेटौँडामा अनलाइन शिक्षा आज नै सुरू गर्न सकिएला त ? भन्ने प्रश्नहरु धेरै आएका थिए । साधारण मनोविज्ञानका साथ अध्ययन गरिरहेका विद्यार्थीलाई अनलाइन मनोविज्ञानमा कसरी प्रेरित गर्ने ? विदेशीले बनाइदिएका अनलाइन शैक्षिक प्ल्याटफर्म जस्तैः जुम, गुगल क्लास, मिट जस्ता प्ल्याटफर्ममा कहिलेसम्म विश्वस्त हुने ? जस्ता प्रश्नहरुले हरेकको मनमा गडेको थियो । तर हाम्रो विद्यालयले अनलाइन शिक्षा विद्यार्थीको पढ्ने बानी नटुटोस् भनेर अवलम्बन गर्दा पनि सुरुसुरुमा धेरै आरोप सहनु परको थियो । सुरुसुरुमा केही अभिभावकहरुले यो स्कुलको पैसा उठाउने बहाना भने त कतिले शिक्षकले तलब खान खोजेकोसमेत आरोप लगाएका थिए । हामी त्यसको पछि नलागी आफ्नै गन्तव्यमा अगाडि बढिरह्यौँ र आज सफल पनि भएका छौँ ।

सुरुमा विद्यालयले सबै शिक्षकहरुलाई १५ दिनको आइटीसम्बन्धी तालिम प्रदान गरेर अहिले हामीले अनलाइनबाट शिक्षण पेसालाई अगाडि बढाइरहेका छौँ । त्यसपछि विद्यार्थी र शिक्षकको विद्यालयकै नामबाट डोमेन आइडी बनाइयो । गुगल क्सालरुममा गएर नयाँ क्लासरुम पनि बनाइयो । सबै शिक्षकहरुले पावर पोइन्टमा आफूले पढाउने कुराहरु गुगल क्लासमा राखिदिए पछि सबै विद्यार्थीहरु त्यस कक्षामा सहभागी भई अहिले पनि अध्ययन गरिरहेका छन् । कक्षामा अध्ययन गर्ने कुरालाई गुगल क्लासमा राख्दा उनीहरुले फुर्सदको समयमा त्यहाँ गई अध्ययन गर्ने गर्छन् । त्यसपछि पढेका आधारमा जुममा एकल वा समूहमा अन्तरक्रिया गराई अभ्यास गर्न लगाइन्छ । केही वस्तुगत प्रश्नहरु राखेर पूर्व हाजिरीजवाफ र पढेपछि पनि हाजिरीजवाफ दिएर गर्न लगाइन्छ । त्यसबाट सबै विद्यार्थीहरुको ग्रेडिङ पनि हुन्छ । यो सब हुनुमा विद्यालय र प्रशासनको निकै ठूलो भूमिका र दायित्व हुँदारहेछ । प्रत्येक दिन फोन गर्ने लगायत सम्पूर्ण डोमेन आइडी बनाउने कार्यमा अगाडि नै रहेकाले नै सफल भएका हौँ ।

अनलाइन शिक्षाको केही चुनौति पनि पक्कै छन् । अनलाइन शिक्षा आजको अपरिहार्य विषय हुँदा हुँदै पनि सबै ठाउँमा इन्टरनेटको समान बितरण हुन नसक्दा यसबाट केही बालबालिकालाई शिक्षा प्रदान गर्न निकै चुनौति रहेको देखिन्छ ।

त्यसैगरी अनलाइन सेवा प्रदायकहरुका लागि पनि यो एउटा चुनौतिको विषय बन्न सक्दछ किन भने यसका लागि भरपर्दो, सर्व स्वीकार्य र गुणस्तरीय सेवा प्रदान गर्न निकै कठिन पर्न सक्दछ । यसका साथै सबै उमेरका विद्यार्थीहरुलाई यस प्रक्रियामा ढाल्न पनि चुनौति रहेको देखिन्छ । अभिभावकहरुका लागि पनि यो एउटा चुनौतिको विषय हुनसक्दछ किन भने गृहकार्य, परियोजना कार्य पठनपाठनमा समेत फरक पर्नजाने हुनाले असहज महसुस गर्ने सम्भावना रहन्छ । सुरुसुरुमा गुगल क्लासरुममा छिर्नै केही समय लाग्दो रहेछ बानी नपर्दासम्म ।

विश्वमा सूचना र प्रविधिको माग बढिरहेको सन्दर्भमा नेपालमा पनि त्यसको प्रभाव  र प्रयोग अवश्य परेको हुन्छ । यसबाट नेपाली जनताले पनि सूचना र प्रविधिको उपयोग गर्न चासो राख्ने सम्भावना रहेको देखिन्छ । त्यसै अनुरुप हाम्रो विद्यालयले पछि पनि गुगल क्लासहरुको प्रयोग गरी अधययन गर्ने सोच लिएको छ ।

बिस्तारै अनलाइनको प्रयोग पनि बढाउन सकिन्छ भन्ने विश्वास गर्न सकिन्छ । भागवत गीतामा उल्लेखित एउटा ‘जे हुने छ त्यो पनि राम्रै हुनेछ’ भन्ने वाक्यांशलाई स्मरण गर्दै कोभिड १९ को कारण अहिले शिक्षक कर्मचारीहरु लामो समय घरै बसिरहेको सन्दर्भमा अनलाइनको सम्बन्धमा जान्न र सिक्नका लागि आफूलाई अभ्यस्त राख्न सकेको खण्डमा सबैले अनलाइनको प्रयोग गर्न जानेका छौँ र यसबाट घरमा बसेका लाखौ वालवालिकाहरु पनि लाभान्वित भएका छन् ।

साथै विद्यालय खुल्ने बेला विद्यार्थीका सामुअरु नयाँ प्रस्तुतिका साथ प्रस्तुत हुन सक्नेछन् र त्यतिबेला विद्यार्थीहरुलाई पहिलेभन्दा बढी विश्वसनीय ढङ्गबाट पठनपाठन गर्न सक्षम हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।