फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रमा सामुदायिक विद्यालयको तुलना निजी विद्यालयमा विद्यार्थी संख्या बढी रहेको पाइएको छ । हेटौंडा नगरका कुल १३९ विद्यालयबाट शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षामा ५० हजार ४ सय ३८ जना विद्यार्थी सहभागी भएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले जानकारी दिनुभयो । वार्षिक परीक्षामा सहभागी विद्यार्थी संख्याका आधारमा हेटौंडा उपमहानगरपालिकामा सामुदायिक विद्यालयको तुलना निजी विद्यालयमा ७३२ जना विद्यार्थी बढी रहेका छन् ।

हेटौंडा उपमहानगरका ६२ वटा निजी विद्यालयमा २५ हजार ५ सय ८५ विद्यार्थीले वार्षिक परीक्षामा सहभागिता जनाएका छन् भने हेटौंडा उपमहानगरक्षेत्रका ७७ वटा सामुदायिक विद्यालयमा २४ हजार ८ सय ५३ विद्यार्थीले परीक्षा दिएको महाशाखा प्रमुख अछामीले जानकारी दिनुभयो । नगरका सबै निजी विद्यालयले विद्यार्थीको विवरण नबुझाएको पनि महाशाखा प्रमुख अछामीले बताउनुभएको छ । हेटौंडा महानगरक्षेत्रका सामुदायिक विद्यालयमा ८४५ स्थायी शिक्षक कार्यरत छन् ।

सामुदायिक विद्यालयको तुलना संस्थागत विद्यालयमा विद्यार्थी संख्या बढी हुनुमा विद्यालयका शिक्षकहरु जिम्मेवार नहुनु प्रमुख कारण भएको सेवानिवृत्त शिक्षक ऋषिराम पोखरेल बताउनुहुन्छ । ‘सरकारी विद्यालयका शिक्षकलाई विद्यार्थी संख्या घट्नुले उनीहरुको पारिश्रमिकमा कुनै फरक पर्दैन । तर, निजी विद्यालयमा विद्यार्थी संख्या घट्यो भने शिक्षकले पारिश्रमिक नपाउने खतरा हुन सक्छ’, जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै गर्दा अनिवार्य अवकास पाउनुभएका पोखरेलले भन्नुभयो, ‘शिक्षक जिम्मेवार भए विद्यार्थी संख्या कम हुँदैन ।’

सामुदायिक विद्यालयमा बालबालिका र अभिभावक दुबै ढुक्क हुन नसक्नु, निजी विद्यालयमा आफ्ना बालबालिका पढाउनु अभिभावकको सामाजिक हैसियत बढ्ने मानसिकता राख्नु जस्ता कारणले पनि निजी विद्यालयप्रति अभिभावक आकर्षित भएको उहाँको भनाइ छ । तल्लो तहका कक्षाको पठनपाठनमा हेलचेक्र्याइँ हुनु, पढाउने तौरतरिका पनि प्रभावकारी नहुनुले पनि सामुदायिक विद्यालयप्रतिको चासो कम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।