हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले फलफुल खेती विस्तार कार्यक्रम अन्तर्गत बर्खे मौसममा फलफुलको बिरुवाहरु वितरण गर्ने भएको छ । निशुल्क रुपमा ७ थरीका बिरुवाहरु किसान, कृषक समुह, कृषि फर्महरुलाई वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिनुभयो ।

असार ५ गतेभित्र कागती, सुन्तला, जुनार, आँप, लिचि, एभोकाडो र मेवाको बिरुवाहरुको माग सम्बन्धित वडा कार्यालयमा गर्न सकिने उहाँले जानकारी दिनुभयो । मागअनुसार कृषक, कृषि फार्म र कृषक समूहलाई निशुल्क रुपमा बिरुवा वितरण गरिने उहाँले बताउनुभयो । यसअघि हिउँदमा भीमफेदी गाउँपालिकाले कृषकहरुलाई किबी, ओखर र नासपातीको बिरुवा निशुल्क वितरण गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख सौगात गौतमले बताउनुभयो ।

भीमफेदी गाउँपालिकाको कृषि विकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार बिरुवा एक चरणमा वितरण भैसकेको र अब पुनः वितरण गर्ने भएको उहाँले बताउनुभयो । गाउँपालिकाले कृषक र कृषि फार्मले फलफुलको विरुवा माग गर्दा कम्तिमा २० बिरुवा र कृषक समुहले कम्तिमा ५० बिरुवा माग गर्न अनुरोध गरको छ । गाउँपालिका भित्र बाझो रहेको जमिनमा फलफुलका बिरुवा लगाउने कृषि फार्म, कृषकहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताएको छ ।