आइतबार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर १० का दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । सन् १९४८ को डिसेम्बर १० मा मानव अधिकार घोषणापत्र पारित भई जारी भएको भए पनि आधिकारिकरुपमा सन् १९५० बाट यो दिवस बनाउन थालिएको हो । यस वर्ष ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् । मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेदमा कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भएबमोजिम कानुन बनाई मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।
विश्वका धेरै देशले स्वीकार्दै र पालना गर्दै आएको मानव अधिकार घोषणापत्र विश्वभरका ५ सयभन्दा बढी भाषामा अनुवादित भई प्रकाशन गरिएको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्वद्र्धन गर्दै विधिको शासन कायम गर्ने व्यवस्थालाई उच्च प्राथमिकता दिएको छ । मानव जन्मेदेखि नमरुञ्जेलसम्म सम्मानितरुपमा अरुसरह बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यक्ताहरुलाई मानव अधिकारको रुपमा बुझ्न सकिन्छ । हामी सबैको आधारभूत अधिकारको रुपमा रहेको मानव अधिकार प्राप्तिका लागि सचेत बनाउने र आवाज बुलन्द गर्ने दिनका रुपमा मानव अधिकार दिवस मनाइने गरिएको भए पनि नेपालमा मानव अधिकारको अवस्था अझै सबल बन्न सकेको छैन । मुलुकको संविधान र अन्य कानुनले विधिको शासनलाई अंगीकार गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको छैन । यसले मानवअधिकारको प्रत्याभूतिबाट कयौं नागरिक वञ्चित हुनु परिरहेको छ । शक्ति र सत्ताको पहुँच भएकाबाहेक सामान्य नागरिकले न्यायको अनुभूति गर्न नसकिरहेको अवस्थामा मानव अधिकार कमजोर बन्दै गएको छ ।
मानवअधिकार उल्लंघनको एकमात्र कारण मानिस–मानिसबीच हुने विभेद हो । हरेक मानिसको जीवनको सुरुवात र अन्त्य समान तरिकाले हुन्छ । तर, जीवनयापन गर्ने क्रममा भने मानिसबीच नै विभिन्न प्रकारका विभेद हुने गरेको छ । जाति, लिङ्ग, धर्म, वर्ग, वर्ण, क्षेत्र, भाषा, संस्कृति आदिका आधारमा मानिसबीच विभेद भइरहेका छन्, जुन मानव अधिकार हनन्का उदाहरण हुन् । हरेक व्यक्तिले नागरिक अधिकार, राजनीतिक अधिकार, सामाजिक अधिकार, आर्थिक अधिकार र सांस्कृतिक अधिकार प्राप्त गरेमा आधारभूत मानव अधिकार पाएको मान्ने गरिन्छ । तर, नेपालमा धेरै हदसम्म राजनीतिक अधिकार र केही हदसम्म सामाजिक अधिकार पाइएको भए पनि अन्य अधिकारको हिसाबले नेपाली निकै पछि छन् ।
नेपालको संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गरी मानव अधिकारको प्रत्याभूतिको व्यवस्था गरेको छ । तर, ती सबै हक अधिकार आम नेपाली नागरिकले उपभोग गर्न पाएका छैनन् । यसले नेपालमा मानव अधिकारको अवस्था अझै कमजोर रहेको प्रष्ट हुन्छ । मानव अधिकार प्राप्तिका लागि मानव अधिकारको हनन गर्नेहरुलाई कानुनी कारबाही हुनु आवश्यक छ । वर्षमा एक दिन राष्ट्र प्रमुख र सरकार प्रमुखले शुभकामना सन्देश दिएर मानव अधिकार दिवस मनाउँदैमा मानव अधिकारको प्रत्याभूति हुँदैन । राजनीतिक दल तथा राज्य संयन्त्र कटिबद्ध बनेर मानव अधिकार हनन हुन नदिने र मानव अधिकार हनन गर्नेलाई प्रभावकारी कानुनी कारबाही गर्न सकेमा मात्र मानव अधिकार दिवस मनाउनुको सार्थकता रहनेछ ।