प्रकाश खतिवडा संयोजक, मेन इंगेज एलायन्स बागमती प्रदेश तथा अध्यक्ष बाल कल्याण समाज मकवानपुर

अपरिहार्यसन्दर्भः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान

यस बर्षको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको मूल नारा “लैगिंक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने रहेको छ । समाजमा व्याप्त लैंगिक हिंसालाई अन्त्य गर्न महिला र बालबालिकामा लगानी बढाउन वकालत तथा मानव समुदायलाई सचेत र जागृत गर्दै सभ्य समाजको निर्माण गर्न यो अभियान संचालन गरिएको हो । यस दिवशको अवसरमा समाज विकासको ऐँजेरुको रुपमा समाजमा देखा परेको विभिन्न हिंसाको स्वरुपहरुलाई जरैदेखि केलाएर त्यस्ता देखिएका विभेद र हिंसाका स्वरुपहरुलाई अन्त्य गर्न यो अभियान सार्थक सावित भएको छ । लैगिंक हिंसा विशेषगरी यौनिक तथा अल्पसंख्यक समुदायले भोगिरहेको हिंसा र महिला हिंसा अन्त्य गर्न पुरुष वर्गको सार्थक सहभागिता अपरिहार्य रहेको छ । अहिले उल्लेख्य मात्रामा पुरुषहरु पनी हिंसाको शिकार भएको घटनाहरु बाहिर आएका छन् । यि सबैलाई केलाएर पितृसत्तात्मक सोचको अन्त्यका लागि बहस चलाइनु सकारात्मक पक्ष हो ।

सार्वजनिक वा निजी जीवनमा लैगिंकताको आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य लैंगिक हिंसा हो । विशेषगरी लैंगिकताका आधारमा हुने वा हुन सक्ने अपमानजनक, पीडाजन्य, विभेद, शोषण र पीडाजन्य व्यवहार यस भित्र पर्दछन् । पितृसत्तात्मक सोचको आधारमा शक्ति हत्याउन जोसुकैले दवाव, करकाप वा प्रतिकुलता सिर्जना गरी स्रोत र स्वतन्त्रता उपभोग गर्नबाट रोक लगाउने व्यवहारहरु नै लैगिंक हिंसा भित्र पर्दछन् । पुरुष वर्गलाई सहकार्यका लागि प्रेरित गर्दै समाजमा देखिएको यस्तो हिंसा अन्त्य गर्न र लैंगिक हिंसाविरुद्ध आवाज उठाउन बागमती प्रदेशमा मेन ईंगेज एलायन्स बागमती प्रदेश पनि क्रियाशील छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोगिरहेको समस्या उनिहरुको मात्र समस्या होईन । यसलाई आँखा चिम्लनु पनि हिंसा हो । उनिहरुलाई लक्षित गरी बोलिने अभद्र व्यवहार र अश्लिल भाषाले कति हदसम्म उनिहरुले मानसिक यातना भोग्न बाध्य हुन परेको छ भन्ने आँकलन हुन पर्दछ । घृणायुक्त अभिव्यक्ति र हिंसाको कारण यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले आफ्नो पहिचान लुकाउँदै अपमान सहन नसकी थात्थलो नै छोड्न बाध्य भएका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् । सामाजिक अभियन्ताहरुले यस विषयमा आन्दोलित भई सामाजिक न्याय स्थापना गर्न क्रियाशील हुन पर्ने देखिन्छ । यसै विषयलाई आधार बनाएर हिंसा पीडित बालिका, किशोरी, युवा महिला एवम् अपांगता भएका र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार स्थापित गर्दै सम्मानित जीवन जीउन पाउने अधिकारको वकालत मेन ईंगेज एलायन्स बागमती प्रदेशले गर्दै आएको छ ।

नेपालको संविधान २०७२ को लिखत लैगिंक हिंसा अन्त्य गर्ने दृष्टिकोणले उत्कृष्ट संविधान भएको मानिएको छ । संविधानको धारा १६ ले मौलिक हकको रुपमा सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । यसैगरी सोहि संविधानको धारा १८ मा समानताको हकको व्यवस्था गर्दै सबै नागरिक कानुनको दृष्टिकोणमा समान हुनेछ र कसैलाई पनि कानुनको समान संरक्षणबाट बन्चित नगरिने समेत उल्लेख गरिएको छ । यसैगरी समान कामका लागि लिंगको आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने बारे संविधानले स्पष्ट पारेको छ ।

यसैगरी धारा ३८ मा प्रत्येक महिलालाई लैगिक भेदभाव बिना समान बंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हकको व्यवस्था समेत गरिएको छ । यसैगरी महिला विरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी उल्लेख भएको पाईन्छ । संविधानले महिलालाई राज्यको सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुन पाउने हकको सुनिश्चितता समेत गरेको छ । लैंगिकतामा आधारित हिंसा अन्त्यका लागि घरेलु हिंसा (कसुर तथा सजाय) ऐन २०६६ मा भएको व्यवस्था असाध्यै राम्रो छ । तर कार्यान्वयनको पक्ष भने फितलो रहेको जनगुनासो छ ।

लैंगिक समतामूलक राष्ट्र निर्माणको सोच र लैंगिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्ने उद्देश्यले १५ आवधिक योजना कार्यान्वयनमा रहेको छ । यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल परिचालन सम्बन्धी कार्यविधी २०७५ को कार्यान्वयन गर्नु सुखद् पक्ष मान्न सकिन्छ । सारभूत लैंगिक समानता कायम गरी तीनै तहको सरकार बीच समन्वय र सहकार्य गर्दै न्यायपूर्ण समाज स्थापनाका लागि लैंगिक समानता नीति २०७७ लाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यान्वयनमा ल्याउनुलाई उपलब्धी मानिएको छ ।

लैंगिकतामा आधारित हिंसा मानव अधिकारको उल्लंघन तथा एक आपराधिक कार्य हो भन्ने सबैले मनन गर्न आवश्यक छ । यसले महिलाको समग्र विकास, सुरक्षा र सामाजिक जीवनमा गम्भीर असर पार्ने गरेको देखिएको छ । लैंगिकतामा आधारित हिंसाका लागि गरिबी, अशिक्षा, कुरीति, कुसंस्कार, पितृसत्तात्मक सोच, असमानता र सामाजिक न्यायको अभाव नै कारक तत्वको रुपमा रहेको पाइएको छ ।

हाम्रो समाजमा देखिएको लैंगिक विभेद अन्त्य गर्न मेन ईंगेज एलायन्स, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल, नागरिक समाज सञ्जाल, शिक्षाका लागि राष्ट्रिय अभियान, राष्ट्रिय बाल संरक्षण सञ्जाल तथा यसमा आबद्ध सामाजिक संस्थाहरु अस्मिता नेपाल, माईती नेपाल, बाल कल्याण समाज मकवानपुर, हिमराईट्स, नारी सीप सृजना केन्द्र, ग्रामीण महिला सेवा केन्द्र, सेलर्ड, सिविन नेपाल, शान्ति फाउण्डेशन, जि.डब्लु.पि, नारी संरक्षण केन्द्र, एस्थर बेन्जामिन स्मृती संस्था, ईटिएससि नेपाल, साना हातहरु, सुनिता फाउण्डेसन, फ्रेन्डस मकवानपुर, ब्लु डाईमण्ड सोसाईटी, दलित महिला संघ, मकवानपुर महिला समुह, नेपाल परिवार नियोजन संघ, महिला तथा बालबालिका सेवा केन्द्र, युफिड नेपाल, युसेस, युवा सेवा समाज नेपाल, कोशिश, एकीकृत ग्रामीण सेवा समाज, स्वतन्त्रता अभियान नेपाल, युवालय, हामी दाजुभाइ लगायतका संस्था क्रियाशील छन् ।

लैंगिकतामा आधारित हिंसा अन्त्यका लागि मेन ईगेज एलायन्स नेपालमा सन् २००७ देखि क्रियाशील छ । यो लैंगिक हिंसा अन्त्य, लैंगिक समानताको स्थापना तथा समाजमा विद्यमान नकारात्मक पुरुषत्वको रुपान्तरणमा भूमिका खेल्ने ध्येयका साथ क्रियाशील व्यक्ति तथा संगठनहरुको साझा सञ्जाल हो । सेतो रिवन अभियान, महिला हिंसा विरुद्धको १६ दिने अभियान जस्ता लैंगिक हिंसा विरुद्धको अभियानमा महिलासँगै पुरुष तथा युवाहरु हातेमालो गर्ने क्रम बढिरहेको छ । पुरुष तथा युवाहरुलाई हिंसा विरुद्ध उभ्याउन तथा उनिहरुको सकारात्मक भूमिका अभिबृद्धि गराउन यो सञ्जाल उपलब्धिमूलक देखिएको छ । नेपाल सरकारको लैंगिक हिंसा अन्त्य सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई सफल बनाउन एलायन्सले महत्वपूर्ण कार्यहरु गर्दै पनि आइरहेको छ । एलायन्सले महिला तथा किशोरीहरु विरुद्धको हिंसा अन्त्य गर्ने, लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकारका लागि वकालत गर्ने, पुरुष तथा युवाहरुको बीचमा हुने हिंसा न्युनीकरण गर्ने, बाल यौनशोषण, यौन दुव्र्यवहार, तथा मानव बेचबिखनको रोकथाम र नियन्त्रण, लैंगिक हिंसालाई प्रश्रय दिने नीतिहरुको परिवर्तन, मातृ तथा बाल स्वास्थ्यमा बाबु तथा हेरचाहकर्ताको रुपमा पुरुषको सकारात्मक भूमिकाको प्रबद्र्धन गर्ने जस्ता कार्यहरु मेन ईगेज एलायन्सले गर्ने गरेको छ । एलायन्सले विभिन्न तह र तप्कामा रहेका पुरुष तथा युवाहरुलाई लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेको समस्या एवम् महिला हिंसा विरुद्धको अभियानमा क्रियाशीलता हुन आग्रह समेत गरेको पाईन्छ । मकवानपुरको हकमा भने मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालमा सबै वर्गको संयुक्त प्रयासले लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन र अन्य महिला हिंसा न्युनिकरण गर्ने सवालमा क्रियाशील रहेको पाईन्छ ।

लैंगिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मेन ईगेज एलायन्सले निम्न सन्देश दिन खोजेको पाइएको छ । १) लैंगिकताको आधारमा गरिने हिंसा अमानवीय तथा दण्डनीय अपराध हो । २) लैंगिक हिंसा विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि पुरुष तथा युवाको सकारात्मक भूमिका अपरिहार्य हुन्छ । ३) लैंगिक हिंसाको घटना भए, गरेको थाहा भएमा त्यस बारेमा सम्बन्धित निकायमा यथासक्य छिटो उजुरी गर्नु वा उजुरी गर्न पीडितलाई आवश्यक सहयोग पु¥याउनु प्रत्येक व्यक्तिको कर्तव्य हो । ४) लैंगिक हिंसाका घटनामा संलग्नलाई फौजदारी जवाफदेहिताबाट उम्काउने प्रयास गर्नु वा पीडितलाई न्याय खोज्नबाट हतोत्साहित गर्नु आफैंमा गैरकानुनी कार्य हो, सो गर्न गराउन हुँदैन । ५) लैंगिक हिंसा अन्त्यका लागि कानुन हुनु मात्रै पर्याप्त हुँदैन, अन्य चेतनामुलक सामाजिक अभियान पनि सँगसँगै लानु पर्दछ ।

महिला हिंसा अन्त्यका लागि र सामाजिक रुपान्तरणका लागि कानुन मात्रै अचुक औषधि होईन यसमा सामाजिक रुपान्तरणको खाँचो छ । त्यसैले लैंगिक हिंसा अन्त्यका लागि वर्तमान कानुनको बारेमा सचेतना जगाउँदै पुरुष र युवाहरुको भूमिकामा उल्लेख्य बृद्धि गर्नुपर्ने हुन्छ । पुरुष वर्गलाई परिवर्तनको संवाहक बनाउँदै आफु पनि हिंसा नगर्ने र अरुलाई पनि हिंसा गर्न रोक्ने अभियानमा क्रियाशील बनाउने कार्ययोजनाको खाँचो महशुस गरिएको छ । तीनै तहको सरकारले लैंगिक हिंसा अन्त्य गर्दै लैंगिक समानता कायम गर्न पुरुष वर्गलाई जिम्मेवार बनाउने कार्यलाई तिब्रता दिने बेला आएको छ । बालिका तथा महिला सशक्तिकरणको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै पुरुष वर्गको सार्थक सहभागिता, समन्वय र सहकार्यबाट लैंगिक हिंसा अन्त्य गर्दै लैंगिक समानता कायम गर्न सकिने बारेमा अझ बढि बहस चल्न आवश्यक देखिन्छ । धन्यबाद ।