नेपालको प्रथालाई हेर्ने हो भने खेलकुद व्यर्थको अभ्यास हो । तर, आधुनिक समयले खेलकुदलाई स्वास्थ्य, अर्थ र शक्तिको मानकको रुपमा स्थापित गरिसकेको छ । स्वस्थ व्यक्तित्वका लागि खेलकुद अनिवार्य छ । आर्थिक विकास र अर्थोपार्जनका लागि पनि खेलकुद प्रचुर सम्भावनाको क्षेत्र बनेको छ । खेल मार्फत नै संसारलाई जितेर विश्वविजेता बन्न सकिन्छ । खेलकुदले मनोरञ्जन, भावनात्मक एकतासँगै बहुपक्षीय लाभको अवसर सिर्जना गर्छ । आधुनिक समाजमा सयौंको संख्यामा खेलहरु छन् । विश्वव्यापी अभ्यासमा आएका यी सयौं खेललाई नेपाली समाजले पनि स्वीकारेको छ । विश्वव्यापी प्रतिस्पर्धामा आफूलाई सहभागी गराउँदै आएको छ ।
नेपालले आफ्नो प्रस्तुती विविध खेलमार्फत गर्दै आए पनि पछिल्लो समय क्रिकेटले राम्रो सम्भावना प्रदर्शन गरिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकदिवसीय मान्यता पाएको छ । पछिल्लो एक वर्षको उपलब्धीको रुपमा नेपालले हालै टि–२० तर्फ विश्वकप खेल्ने भएको छ । अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टि–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपालले आयोजक बन्दै आफूलाई अर्को वर्ष विश्वकप खेल्ने देशको रुपमा स्थापित गर्न सफल भएको छ । एसियाली छनोट प्रतियोगितामा नेपालको प्रदर्शन सराहनीय र प्रसस्त सम्भावनाको आशालाई स्थापित गर्ने तहको रह्यो ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सेमीफाइनल र फाइनलमा पनि उत्तिकै अब्बल खेल प्रदर्शन गर्न सफल भयो । सेमीफाइनलमा युएईलाई हराएर टि–२० विश्वकप खेल्ने निश्चित गरेको नेपालले आइतबार ओमानसँग फाइनलमा सनसनीपूर्ण हार व्यहोर्यो । समूह चरणमा पनि ओमानसँग अविश्वसनीय हार व्यहोरेको नेपालले फाइनलमा पनि पहिले व्याटिङ गरेर राम्रो रन बनाए पनि हार टार्न सकेन । ओमानसँगको दुबै हारमा एउटा प्रमुख समस्या भनेको जित्ने सुश्चितताको भ्रम नै रह्यो । समूह चरणको मध्य लक्ष्य भेट्टाउनबाट चुकेको नेपाल फाइनलमा उच्च स्कोर बनाउँदा बनाउँदै पनि ओमानलाई बेलैमा व्याटिङमा रोक्न असफल रह्यो ।
समग्रमा युवा खेलाडीको बाहुल्य रहेको टिम नेपालले थोरै परिपक्वता र जिम्मेवारी बोध गर्ने अवस्था रह्यो भने नेपाललाई विश्वसामु चिनाउँदै खेल र खेलाडीमार्फत विश्व समुदायमा आफ्नो परिचय स्थापित गर्दै ख्यातीको मार्ग आत्मसात गर्न सक्छ । क्रिकेटमा यस पटक निजी क्षेत्रको पनि उत्साहजनक प्रोत्साहन रह्यो । कतिपयले निजी क्षेत्रको प्रोत्साहनबाट खेलाडीले सामूहिक भन्दा निजी प्रदर्शनमा लोभिएको पनि आरोप लगाएका छन् । यद्यपि अवसर र चुनौति एकसाथ रहन्छ । सरकार पनि क्रिकेटप्रति सकारात्मक देखिएको छ । दक्षिण एसियाली क्षेत्रमा क्रिकेटको लोकप्रियताका आधारमा आगामी दिनमा नेपालले क्रिकेट खेलको आयोजना गरेर पनि आफ्नो आर्थिक विकासमा खेलपर्यटनलाई उपयोग गर्न सकिने अवसर रहन्छ । तसर्थ संघीय सरकारले प्रदेश सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा क्रिकेट खेलको पूर्वाधार विकास र राष्ट्रिय टिमलाई बलियो बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ । १० वर्षपछि टि–२० विश्वकपमा सहभागी हुँदै गर्दा आगामी १० वर्षपछिको नेपाली क्रिकेटको सुन्दर लक्ष्य निर्धारण गरेर क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले सरकारलाई अभिभावकत्वका लागि तयार पार्न सक्नुपर्छ ।