आजको विश्व विद्युतीय सञ्चार माध्यमको चरम विकास र उपयोगका कारण हरेक नयाँ नयाँ सूचना प्राप्त गर्दैछ भने द्रूतगतिमा प्रगति पनि गर्दैछ । यस परिवेशमा हरेक अभिभावकलाई आफू र आफ्ना सन्ततिहरुलाई अत्याधुनिक सूचनाको उपयोग कसरी गर्ने भन्ने बारेमा प्रशस्त मात्रामा जानकारी भएको हुन पनि सक्छ वा नहुन पनि सक्छ ।
हरेक आमाबुबाले आफ्ना सन्ततिहरु आफूहरु भन्दा धेरै सुखी र खुसी भएको हेर्न चाहन्छन् आफ्ना कैयौं चाहना र आवश्यकताहरुलाई सिरानी मुनी नै गाँठो बनाई छोपेर राखेको हुन सक्छन् । आफ्ना बच्चाहरुलाई अलिकति पनि अप्ठयारो महसुस हुन नदिन घण्टौसम्म टाढा–टाढा काम गर्न पुगेका हुन सक्छन् । धेरै भन्दा धेरै कमाउने जमाउने र रमाउने धुनमा आफ्नो स्वास्थ्यको ख्याल नराखेका पनि हुन सक्छन् भने चरम महत्वाकांक्षाका कारण घर परिवारमा भन्दा बाहिर धेरै समय दिइरहेका हुन सक्छन् । जसका कारणले बालबच्चालाई दिनुपर्ने गुणस्तरीय समय पर्याप्त मात्रामा दिन नपाइराखेका हुन सक्छन् । अभिभावक र बालबच्चाका बीचमा जुन प्रगाढ माया, ममता तथा अन्तरक्रिया हुनुपर्ने हो त्यो नभइरहेको पनि हुन सक्छ । जसले गर्दा बच्चाहरु के कुरामा खुसी छन् वा के चाहना राख्छन् भन्ने कुरामा अभिभावक अनविज्ञ हुँदा ठूलो खाडल उत्पन्न भएको हुन सक्छ ।
शुरुका अवस्थादेखि नै सही र जिम्मेवारीपूर्ण अभिभावकत्वको अभ्यास गर्न नसक्दा बच्चामा सुमधुर सम्बन्ध कायम नहुन पनि सक्छ । बच्चाहरुले कुरा बुझ्ने हुँदै गर्दा सही किसिमले सञ्चार गर्ने, अवलोकन गर्ने, सुरक्षा प्रदान गर्नका साथै उसको खानपान, खेलकुद, पढाई, आध्यात्मिकताका कुरा र सामाजिक सम्बन्धका बारेमा सही प्रकारले ध्यान पुर्याउन जरुरी हुन्छ ।
काम÷कार्यालय र घर परिवारको बीचको दूरी कायम राख्न उत्तिकै जरुरी हुन्छ । भनिन्छ बुबाआमाले गुणस्तरीय समय व्यतित गरेका बालबच्चाहरु भोलिका दिनमा आफू जिम्मेवारी हुनुका साथै बुबाआमा, आफ्नो र आफ्ना बालबालिकाको जिम्मेवारी सही किसिमले पूरा गर्न सक्ने हुन्छन् । पैसाले, धनले मन किन्न सकिँदैन । धनले मायाको स्थान लिन सक्दैन । अति आवश्यकीय कुराका लागि धन नभई हुँदैन तर यो नै सबै थोक होइन । पैसाले सबै खुसी दिन सक्थ्यो भने आज किन कैयौ धनाढ्य व्यक्तिहरु मानसिक स्वास्थ्य गुमाएर, परिवार टुटाएर बसेका हुन्थे र ?
(मिश्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन हुनुहुन्छ ।)