मिति २०८१ फाल्गुन १६ गतेको दिनमा नवोदय शिशु सदन कक्षा ३ पिटरप्यानबाट वनभोजका लागि हामी सबै साथी, अभिभावक र शिक्षकहरूको वनस्पति पार्क जाने लाइन तयार भयो । एकछिन पछि बस आयो र हामीहरू बसमा लाइन बनाएर चढ्यौँ । हाम्रा अभिभावक, शिक्षक र गार्ड दाइहरूले हाम्रा लागि वनभोजमा चाहिने सामानहरू बसमा राख्नका लागि सहयोग गर्नुभयो । त्यसपछि हामीहरू वनभोज खाने ठाउँतर्फ अगाडि बढ्यौँ ।
हामी वनभोज जान लागेको बाटोहरूमा विभिन्न ठाउँ आउँदो रहेछ । सबैभन्दा पहिले वन विज्ञान अध्ययन संस्थान त्यसपछि कर्रा पुल, गुम्बाडाँडा, सिमेन्ट कारखाना फेरि अर्को सानो कुख्रेनी खोला हुँदै वनस्पति चोक आयो र त्यहाँबाट हामी दायाँतिर गयौँ । त्यसपछि हामी वनस्पति पार्क पुग्यौँ र हाम्रो अनुपमा गुरुआमा टिकट लिनका लागि भित्र जानुभयो । टिकट लिएपछि ड्राइभर दाइले बस गेट भित्र लैजानु भयो ।
बस रोकिएपछि सबैभन्दा पहिले अभिभावक र शिक्षकहरू बसबाट ओर्लनुभयो । अनि वनभोजका लागि आवश्यक सामानहरू ओराल्नुभयो । त्यसपछि पालैपालो हामी सबैजना ओर्लियौँ र वनभोज खाने ठाउँ अलि पर भएकोले सबैजना मिलेर लाइनमा सामानहरू बोकेर वनभोज खाने स्थानतिर गयौँ । हामीले पनि आ–आफ्नो खानेकुरा बोकेर बस्यौँ र अरू सामानहरू अभिभावक र शिक्षकहरूले बोकेर वनभोज खाने ठाउँतिर लाग्नुभयो ।
यसैक्रममा कोही अभिभावकहरू भिडियो बनाउँदै हुनुहुन्थ्यो । एकछिनको हिँडाइपछि हामी वनभोज खाने ठाउँ पुग्याँै । त्यसपछि हामी केटीहरू एकापट्टी र केटाहरू अर्को पट्टी बस्यौँ । गुरूआमा, अभिभावक तथा हामी सबैले ल्याएकोे खाना गुरुआमा र अभिभावकले एउटै भाँडामा मिलाउनु भयो र हामी पनि खाना खान हात धोई तयार भयौँ । त्यसपछि हाम्रो अभिभावकहरूले हामीहरूलाई खाना दिनु भयो ।
हामी सबैले सन्तुष्ट हुने गरी खाना खायौँ । खाना खाएपछि सबैजनाले एकैछिन नाचेर रमाइलो गर्यौँ । रमाइलो गरेपछि अनुपमा गुरुआमाले हामीलाई खेल खेलाउनु भयो र खेल सकिएपछि पार्क घुम्नका लागि हामी पार्कतिर प्रस्थान गर्यौँ । पार्कमा सबैजना बसी फोटो खिच्यौँ, भिडियोहरू बनायौँ र त्यहाँबाट फर्किएर वनभोज खाने ठाउँमै आयौँ ।
हामीले मिग्माको जन्मदिनको केक पनि काट्यौँ र सबैले केक खायौँ । त्यसपछि केकसँगै दही पनि खायौँ र फेरि एकछिन नाँचगान गर्दै रमाइलो गर्यौँ । अन्त्यमा सबैजना मिलेर सामान प्याकिङ गरी बस भएको ठाउँमा आयौँ र बसमा चढेर विद्यालय तर्फ फर्कियौँ ।
कक्षा–३, नवोदय शिशु सदन, हेटौँडा–४