राक्सिराङ–९, खैराङकी फूलमाया चेपाङको घरको विद्युत्को मिटर ‘अन’ गर्नुहुँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

खैराङ (राक्सिराङ) : मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतको पहुँचमा पुगेको छ । चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच पुर्‍याइएको हो ।

राक्सिराङ गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’ अन्तर्गत विद्युत सेवा पुर्‍याएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका–९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गर्नुभएको हो । उहाँले राक्सिराङ–९, खैराङकी फूलमाया चेपाङको घरको विद्युत्को मिटर ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गर्नुभएको हो । टुकी र दियालोको उज्यालोमा जीवन व्यतित गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत सेवा पुगेको हो ।

मकवानपुरकै दुर्गम खैराङमा २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतमा संचालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रम मार्फत् सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरुमा बत्ति पुर्‍याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो ।

सो पश्चात प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत कार्यक्रम मार्फत् ३० करोड रुपैयाँ मार्फत् अभियानलाई अघि बढाएको जानकारी दिनुभयो । उक्त कार्यक्रम मार्फत् सबै वडामा विद्युतको पहुँच पुगे पनि अझै सबै नागरिकको पहुँचमा विद्युत सेवा पुर्‍याउन बाँकी रहेको उहाँले बताउनुभयो । उक्त अभियान अन्तर्गत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३०३ वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गर्नुभयो । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो भने उक्त कार्यमा सघाउ पुर्‍याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।