हेटौंडाः नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवालीले पार्टी बलियो बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेकपा एमाले मकवानपुरको १० औँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेता ज्ञवालीले पार्टीमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी दिएर र नयाँ पुस्तालाई समेटेर पार्टी बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी कामको जिम्मेवारी सहमति र समझदारीका साथ लिनुपर्ने बताउनुभयो । एमाले मकवानपुरले आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने बागमती प्रदेशको प्रथम अधिवेशनको तयारीअनुरुप बैठक बसेको हो । प्रदेश अधिवेशनको लागि जिल्लामा रहेका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट, मजदुर, पेशागत र उत्पीडित क्षेत्रबाट गरी १ सय जना प्रतिनिधि चयन हुने पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनुभयो । पालिकाको १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रको प्रतिनिधिसभा २ क्षेत्र गरी १३ वटा प्रतिनिधि छनौट हुने जनाइएको छ । आगामी भदौ २७ गते प्रतिनिधि छनौट हुने सचिव सिग्देलले बताउनुभयो ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेललगायत प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।