निर्माणाधिन आमाको घरको प्रस्तावित चित्र ।

लकडाउनको करिव २ साता अगाडि धरानबाट हेटौंडा हुँदै काठमाडौँ जाने तय भएको थियो । जहाँ कोहि आफ्नो प्रिय मान्छे हुन्छ, जससँग मनका भावनाहरू, अध्यात्मका अनुभवहरू र संसारको मित्रता गाँसिएको हुन्छ ति व्यक्तिलाई ऐनमौकामा भेटौं भन्ने चाहना सबैमा हुन्छ । त्यहि कारण हो समय मिलेसम्म पूर्वतिरको यात्रा हुँदा हेटौंडामा रोकिएर केहि समय बिताउँ भन्ने इच्छा हुन्छ ।

डा. नम्रता पाण्डे

हाम्रा अनन्य मित्र, सहपाठी, अध्यात्मको यात्रा मार्फत परमार्थलाई केन्द्रमा राखेर पूर्णत: समाजसेवामा समर्पित विजयभाई हुनुहुन्छ जोसँग थोरै समय मात्र भेट्दा पनि आनन्दको भाव वृद्धि हुन्छ । आफ्नो जीवननै समाजसेवामा सुम्पिनुभएका विजय भाइले यसपटक आफ्ना सहयोगीहरूको साथ लिएर, मनहरी गाउँपालिका, स्थानीय एवम् ब्रह्मकुमारी परिवारका मित्रहरूको सहयोगमा “आमा घर सेवा आश्रम” को आयोजना अगाडि सारेर करिव १५ महिनाको बीचमा ४ तलाको आश्रम घर निर्माण गरिसक्नुभएको छ ।

आमा घर नै किन बनाउनु पर्यो ? किन यसको सोचाई आयो भन्ने मेरो प्रश्नमा मातृशक्ति प्रतिको उहाँको गहन भावना, सम्मान र अहिलेको समयमा धेरै आमाहरू घरबारविहीन भएका यथार्थता सुन्दा थाहै नपाई दुबै आँखाबाट तपतप आँशुका ढिका झरेका थिए । “आमाको गर्भ” जहाँ १० महिनासम्म आफ्नो घर बनाएर यो धर्तीमा पाइला टेकेका थियौं हामीले । आज धेरै तिनै आमाहरु घरबारविहिन देख्दछौं समाजमा ।यो दृश्यले हामी सबैको हृदय करुणाले भरिएर आउँछ।भनिन्छ नि“ ईश्वर जहाँ तहीँ पुग्न सक्दैनन् त्यसैले आमा दिएर पठाए । ” वास्तवमा संसार देख्ने र खुसी अनि सफलता प्राप्त गर्ने पहिलो खुट्किलो नै आमा हो । आमाको आर्शिवाद विना जीवन सफल र असल हुन सकोस्, कल्पनासम्म पनि गर्न सकिदैन ।

निःस्वार्थ प्रेमकी खानी, सन्तानकै खुसीमा आफ्नो सर्वस्व देख्ने देवी यो जगतमा कोही छ भने, केवल आमा हुन् । आफ्ना सन्तानका नाममा सम्झि-सम्झि जन्मोत्सव मनाउँछिन् । सन्तानलाई के मिठो लाग्छ र लाग्दैन, पल-पल ख्याल पुर्याउँछिन् तर त्यहि स्थानमा आमाको लागि सन्तानलाई सधै-सधै हतार हुन्छ, ख्याल गर्ने समय नै मिलाउन सक्दैनन् । ६ जना सन्तान आमाले एक्लै हुर्काउँछिन् तर आमाको बुढेसकालमा तिनै छोराको बिचमा भागबण्डा चल्छ आमा कसले पाल्ने ? सानोमा सबैले मेरी आमा मेरी आमा भनेर खोसाखोस गर्ने सन्तान ठूला भएर कमाउन सक्ने भएपछि भन्छन् – आमा मेरी मात्र हुन्र ?

दुइ छोराको विचमा एउटा आमालाई १५ दिनको दरले सेवा दिने निर्णय हुन पुगेछ । ३० दिनको महिना हुँदा त ठिकै हुने गर्दथ्यो तर कुनै महिना ३१ दिनको पर्यो भने आमालाई अति अप्ठयारोस्थिति सृजना हुने गर्दोरहेछ । त्यो १ दिन कसले जिम्मा लिने भन्ने प्रश्न उठ्दो रहेछ दुइ भाइमा ! आजको हाम्रो समाज र संस्कारको अवस्था यस्तो छ । यस प्रकारको बोझमय जीवनयापन गर्न नपरोस भन्ने सद्भावले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–८ सिमपानीस्थित एउटा सुविधासम्पन्न आमाघर निःसुल्करुपमा सञ्चालन गर्ने पवित्रभावका साथ ४ तलाको ढलान सकेर विस्तारै आमाहरूलाई आमाको घरमा स्वागत गर्ने कार्य प्रगतिमा छ । लगभग ३ करोडको लागतमा सम्पन्न हुने अनुमान गरिएको उक्त आमाघरको निर्माण कार्यमा सहजता होस भन्ने भावले मनकारी, परोपकारी एवम् समाजसेवी यहाँहरु सबैको सानो भावनात्मक सहयोग र सक्रियतामा मुठिदान संकलन कार्य शुरु गरी आफूलाई जन्मदिने असँख्य आमाहरुको आर्शिबाद र सेवास्वरूप सेवार्थहात अगाडी बढाई अभियानलाई सहयोग पुर्याईदिनुहुन हार्दिकतापूर्ण गरिएको अनुरोधको परिणाम स्वरूप आश्रमले पूर्णता पाउने क्रम पनि जारी छ भने आमाको घरमा आइपुग्नुभएका आमाहरूलाई सेवा दिने कार्य पनि सुचारू भईसकेको छ ।

एकातिर एकल, घरवारविहीन, वृद्धाश्रम नै जानुपर्ने र घरमा परिवारसँग बस्न असहज आमाहरूको आश्रयको थलो हो आमाको घर भने अर्कोतिर, जीवनको उत्तरार्द्धमा भएपनि परमार्थको ख्याल गर्दै, आफ्ना जीवनभरका भोगाई, संघर्ष र चुनौतीलाई विश्राम दिँदै ध्यान साधनमा समय बिताउने हेतुले साधनास्थलको रूपमा यसको प्रयोग गर्ने लक्ष्य राखिएको छ । करिव १ हेक्टरको क्षेत्र ओगटेको आमा घर सेवा आश्रम र सिमपानी देवकोटा एकीकृत वन विकास समितिद्वारा प्राप्त करिव ६.५ हेक्टरको वन क्षेत्रलाई पार्क निर्माण गरी प्रयोगमा ल्याउनको लागि आमा घर सेवा आश्रमले अवसर पाएको छ । अहिलेसम्म आमाको घरबाट सेवा लिईरहनुभएका आमाहरू त्यो पार्कको सेवामा पनि खटिनुभएको छ । आफ्नो नित्यकर्म, ध्यान साधना, खानपान सकेर सबै आमाहरू बगैंचामा जम्मा भई फूलहरू रोप्ने, फलफूलका विरूवा हुर्काउने, बगैंचाको कुनै कुनामा रहेको मन्दिरको सफाई गर्ने त कुनै कुनामा करेसाबारीको रूपमा प्रयोग गर्ने कार्यमा समय लगाईरहनुभएका आमाहरूले समय आनन्दले बितेको अनुभूति गर्नुहुन्छ ।

यो जीवन केवल आफ्ना आवश्यकता पूरा गर्न, आफ्ना स्वार्थहरूलाई पूरा गर्न मात्र होइन हाम्रो हृदयमा छिपेको कल्याणकारी भाव र परोपकारको भावलाई प्रष्फुटन हुन दिनुपनि हो । हामीमा रहेका अनेक प्रकारका सेवा भाव जीवन छँदैमा प्रयोग हुन पाएनन् भने मृत्यूको क्षणमा पश्चातापमा पर्नुको विकल्प छैन । परोपकारका अनेक आयाम छन्। आमाको घरमा सेवा दिनको लागि खटिने बहिनीहरूले आमाहरूको लागि खाना, बस्नको व्यवस्था र घर सफा सुग्घर राखेको देखेर मनै आनन्द हुन्छ । भाईहरू समग्र व्यवस्थापनमा खट्नुहुन्छ । भवन निर्माणकार्य पूरा हुन अझै बाँकि छ र पनि हरतरहले आर्थिक सहयोग जोगाड गरी हाँसीखुसी पुण्य कर्ममा होमिनुभएको छ । मातृशक्तिले दु:ख, कष्ट र पिडा भोग्नु नपरोस् ।

आफूले जन्माएर मात्र सन्तान हुँदैनन्, सृष्टिका सबै मानव एक अर्कामा प्रेम, सद्भाव र सहयोगी भावनाले बाँचेको हुन्छ । सन्तान जसका भएपनि मानवीयता भएका हुनुपर्दछ त्यसो भएमा सारा संसार नै आफ्नो लाग्दछ भन्ने सन्देश आमा घर सेवा आश्रममा खट्ने संयोजक ज्यूहरू, चन्दादाताहरू, हृदयमा प्रेम भरिएका स्थानीयहरूको सहकार्य देख्दा असम्भव केहि छैन भन्ने भावले आल्हादित बनाउँछ I कसैले भान्छाको सामान, कसैले फर्निचर, कसैले ओढ्ने ओछ्याउने, कसैले खाद्यान्न, कसैले नगद, जसको जे सामर्थ्य छ, जति सम्भव छ सहयोग गरी केवल दिनमा मस्त छन् । दिँदा आनन्दको भाव महसुस गर्दछन् र जीवन नै धन्य भएको अनुभूति गर्दछन् । विना स्वार्थ, मानवीयताको भाव सहितको कर्म, केन्द्र विन्दुमा ध्यान साधना र अस्तित्वको कृपालाई आत्मसात गर्दै जीवन बाँच्ने कला हामी सबैले सिक्न लायक लाग्दछन् ।

घरपरिवारमा एक्लिएका, असहजता महसुस भएका, नेपाल भरी जहाँका, जो कोहि आमाहरू आमाको घरमा आएर नि:शुल्क सेवा लिनसक्ने प्रावधान रहेको छ । आमाहरूले मान्नुपर्ने सर्त भनेको केवल माम्साहार वर्जित छ अरू कुनै नियममा बाँधिनुपर्ने छैन । आमाहरूको सेवा गर्न पाउँ भनी आमा घर सेवा आश्रमको उपभोग गर्न सबैलाई सु-सुचित गराउन चाहन्छन् । सेवा, केवल सेवा के हो त्यसको उदाहरण र जीवन बाँच्ने कला, आफ्नो पन, प्रेम र साधना एकै ठाउँमा समेटिएको आमा घर सेवा आश्रम वास्तवमै एउटा नमुनाको स्थल बनेको छ ।
‘नास्तिमातृसमाछाया, नास्तिमातृसमागतिः।
नास्तिमातृसमंत्राण, नास्तिमातृसमाप्रिया।।’
महर्षि वेदव्यासले नारीहरूको सम्मान गर्दै नारीलाई मातृत्वको कदर दिन सकेमा सबै नारीहरू त्यो सम्मानमा अटाउन सक्छन् भन्ने भाव व्यक्त गर्नुभएको छ । मातृत्व समान कुनै छाया छैन, मातृत्वसमान कुनै सहारा छैन । मातृत्वकोसमान कुनै रक्षक छैनन् र मातृत्वसमान कुनै प्रियचीज पनि छैन।आज नेपालमा र खासगरी विश्वभरी नै नारीहरूलाई दोस्रो कोटिमा राखेर हेर्ने संस्कार भएकोहुनाले नारीहरूले आफ्नो सम्मान र हक अधिकार, पुरूषसरह हुनुपर्यो भन्दै कानुनत माग गर्नुपर्ने र विभिन्नअभियान चलाउनुपर्ने स्थिति दु:खद स्थिति हो । जहाँ सृष्टिको सम्मान हुँदैन, सृष्टिमाथि नै दुर्व्यवहार, उपेक्षा, अपराध, हीनताबोध हुने कर्म र व्यवहार देखाइन्छ त्यहाँ शान्ति र समृद्धिको अनुभूति कसरी होला? यहि यथार्थतालाई उजागर गर्नको लागि तन, मन, धनले साथ दिएर खटिएका आमाघर सेवा आश्रमका स्वयंसेवीहरूलाई जति धेरै शब्दहरू खर्च गरेर आभार व्यक्त गरेपनि कमी नै हुनेछ । जहाँ प्रेम र सौहार्दताको अभाव हुन्छ त्यहाँ असमानता, अशान्ति सिर्जना हुन्छ ।

त्यसैले आजको परिस्थितिमा पनि जहाँ-जहाँ जे अभाव छ त्यहाँ नारीत्व र मातृत्वको कदरकोअभाव छ किनकी अत्याचार, हिंसा, अराजकता भनेको प्रेमको अभाव हो, माधुर्यता, सौन्दर्यताको अभाव हो र त्यो अभावलाई निर्मूल गर्ने शक्ति आमाहरूसँग छ, आमाको आशिर्वादमा छ। मानवअधिकार संरक्षणका कुरा हुन् या मुलुकको सुध्रिदो राजनीतिक अवस्था, स्थिर सरकार या जुनकुनै क्षेत्रबाट नेपालको विकास देख्न चाहने हो भने त्यहाँ नारीत्व र मातृत्वको कदर हुनु जरुरी छ। मकवानपुर-८ मनहरीमा रहेको “आमाको घर” यहाँहरूको स्वागतमा बाटो हेरिरहेको छ । सबैको सेवामा हाजिर हुन हरपल तत्पर छ ।