हेटौंडाः यतिबेला विद्यालयमा पठनपाठन बन्द छ । विद्यालयका शिक्षक, कर्मचारी घरघरमै छन् । विश्वलाई नै ठप्प पारेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका बेला विद्यालयका शिक्षक, कर्मचारीको मनोवल उच्च राख्न विद्यालय सञ्चालकले उनीहरुको कोभिड–१९ बीमा गरिदिएको छ । हेटौंडा–९ लामसुरेस्थित कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलका सञ्चालक नविन केसीले विद्यालय शिक्षक तथा कर्मचारी गरी ३९ जनाको कोभिड–१९ बीमा गरिदिएको जानकारी दिनुभयो ।
आज निजीक्षेत्रको एक बीमा कम्पनिमार्फत बीमा गरेको विद्यालय सञ्चालक केसीले जानकारी दिनुभयो । विद्यालयले शिक्षक, कर्मचारीको सेवा सुविधामा पनि कुनै किसिमको कटौती नगरेको जानकारी गराउनुहुँदै शिक्षक, कर्मचारीको मनोवल बलियो बनाउन सके मात्रै जारी लकडाउनपछि विद्यालयलाई सहज र व्यवस्थित रुपमा सुचारु गर्न सकिने केसीको भनाइ छ । कृष्ण आदर्शले ठूलो लगानी गरेर विद्यालय भवन निर्माण समेत गरिरहेको छ । व्यवस्थित विद्यालय पूर्वाधारसहित गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै विद्यालयले विद्यार्थीको नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापनमा पनि जोड दिँदै आएको छ ।