मकवानपुर जिल्लाका मात्र नभई आसपासका अन्य जिल्लाका आँखा रोगीलाई सेवा दिइरहेको छ, हेटौंडा सामुदायिक आँखा अस्पतालले । विगतमा आँखासम्बन्धी सामान्य उपचारसमेत कठिन हुने हेटौंडामा सामुदायिक आँखा अस्पताल स्थापनापछि आँखा परीक्षण तथा उपचार सहज बनेको छ । काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रुपमा स्थापना गरिएको सामुदायिक आँखा अस्पतालको क्रमिक विकास र विस्तारसमेत भइरहेको छ । करिब डेढ दशकअघि स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरका विभिन्न स्थानीय तहमा सेवा विस्तार गरिरहेको छ । अस्पतालले सिन्धुली, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाका गाउँबस्तीसम्म आँखा शिविर सञ्चालन गर्दै आएको छ । रोटरी क्लब अफ इन्टरनेशनल र नेपालका रोटरियनहरुले अस्पतालको विकास र विस्तारमा उल्लेख्य सहयोग गरिरहेको अवस्थामा विभिन्न तहका सरकारको पनि चासो देखिएको छ ।
बागमती प्रदेश सरकारले पनि हेटौंडा सामुदायिक आँखा अस्पतालप्रति चासो देखाएको छ । सोमबारमात्र प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौंडा सामुदायिक आँखा अस्पतालको अवलोकन गरेका छन् । मन्त्री जोशीले अस्पताल भ्रमण गरी अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । सोही क्रममा अस्पताल प्रशासनले प्रदेश सरकारका स्वास्थ्यमन्त्रीसँग अस्पताल विकासका लागि सहयोग गर्न आग्रह गरेको छ । अस्पतालका प्रमुख डा. सुनिल थकाली, संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रशासन प्रमुख सुधीर श्रेष्ठले प्रदेश सरकारसमक्ष मागपत्र बुझाएका हुन् । अस्पतालले मोतिविन्दुको उपचारमा प्रयोग हुने २५ लाख रुपैयाँ पर्ने बायोमेट्रिक मेशिन उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरेको छ । मोतीबिन्दुको शल्यक्रिया गर्नुअघि लेन्सको पावर नाप्न प्रयोग गरिने बायोम्याट्रिक मेशिन पुरानो भएकोले नयाँ मेशिनका लागि प्रदेश सरकारसँग माग गरिएको हो ।
अस्पतालले नियमित ओपीडी, आकस्मिक उपचार सेवाका साथै शल्यक्रिया गरी आँखाको उपचार गर्दै आएको छ । विभिन्न सामुदायिक तथा सामाजिक संघसंस्थासँगको सहकार्यमा अस्पतालले विभिन्न स्थानमा आँखा जाँच शिविर गर्नुका साथै निःशुल्क मोतिविन्दुको शल्यक्रिया सेवासमेत प्रदान गर्दै आएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरका स्थानीय पालिकासँगको सहकार्यमा पालिकामै ग्रामीण आँखा केन्द्र स्थापना गरी आँखाको आधारभूत स्वास्थ्य परीक्षण र उपचार गर्दै आएको छ । गत सातामात्रै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ग्रामीण आँखा केन्द्र स्थापना गरिएको छ । यसअघि थाहा नगरपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका ग्रामीण आँखा केन्द्र सञ्चालन भइरहेको छ । बकैया गाउँपालिकामा छिट्टै ग्रामीण आँखा केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ भने राक्सिराङ, भीमफेदी र मकवानपुरगढीमा पनि ग्रामीण आँखा केन्द्र स्थापनाको पहल भइरहेकाले जिल्लाका सबै पालिकामा आँखा उपचार सेवा विस्तार हुने भएको छ । आँखामा लगाउने लेन्स उत्पादन उद्योग काठमाडौंबाट हेटौंडा–३, बसामाडीमा सार्ने तयारी भइरहेको छ ।
सामुदायिक आँखा अस्पतालले प्रदान गर्दै आएको स्तरीय र सर्वसुलभ उपचार सेवालाई अझ प्रभावकारी बनाउन अस्पतालको थप विकास र विस्तार आवश्यक छ । आँखा उपचारका लागि विश्वनिय मानिएको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा अस्पतालले आँखा उपचार सेवा प्रदान गरिरहेको छ । न्यून शुल्कमा सहज, व्यवस्थित र प्रभावकारी उपचार सेवा दिइरहेको अस्पतालको विकास र विस्तारमा व्यक्तिगत र संस्थागत सहयोग प्राप्त भइरहेको अवस्थामा प्रदेश सरकारले पनि सक्दो सहयोग गर्नुपर्छ । आँखा अस्पताल जति सुविधासम्पन्न भयो, त्यति उपचार सेवा सहज हुने भएकाले अस्पतालको आवश्यकताअनुसार संघ, प्रदेश तथा स्थानीय सरकारले सहयोग गर्नु आवश्यक छ ।