हेटौँडा : औषधी व्यवसायी संघ मकवानपुरले कार्यालय प्रयोजनका लागि आफ्नै भवन निर्माण गर्ने भएको छ । शुक्रबार सम्पन्न दोस्रो साधारणसभाको उद्घाटन समारोहमा संघका अध्यक्ष नारायणलाल श्रेष्ठले संघको कार्यालय भवन निर्माण गर्ने घोषणा गर्नुभएको हो । भवन निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाको ११ नम्बर वडा कार्यालयलाई जग्गा माग गर्ने र सो जग्गामा भवन निर्माण गर्ने योजना अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभयो ।
भवन निर्माणको घोषणा गर्नुहुँदै अध्यक्ष श्रेष्ठले दुई लाख रुपैयाँ, औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवालले एक लाख रुपैयाँ, बागमती प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष शिव पण्डितले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । साधारणसभामा हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालले संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साधारणसभाको अवसरमा संघले संघका अग्रज व्यवसायी विनोदकुमार लामिछाने, हरेराम श्रेष्ठ र ग्याल्जन दोर्जे लामालाई सम्मान गरेको छ ।
हेटौँडा–११ स्थित पूण्यक्षेत्रमा संघका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षता तथा औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । औषधी व्यवसायी संघ बागमती प्रदेश समितिका अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको पनि आतिथ्य रहेको थियो । १३० भन्दा बढी व्यवसायी रहेको संघले साधारणसभासँगै वनभोज कार्यक्रम समेत आयोजना गरेको थियो ।