हेटौँडा : शुक्रबारबाट बकैया गाउँपालिका–५, कर्मचुलीस्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा दुई दिने बकैया कला साहित्य महोत्सव सुरु भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औं वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृङ्खलाको अवसरमा महोत्सव सुरु भएको हो ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा महोत्सव सुरु भएको हो । महोत्सवमा मन्तव्य राख्नुहुँदै उपाध्यक्ष खत्रीले साहित्यिक गतिविधिलाई नजिकबाट नियालिरहेको बाउनुभयो । कला तथा साहित्यलाई अझ विस्तार गर्नुपर्ने उपाध्यक्ष खत्रीले बताउनुभयो । पहिलो दिन बकैया भित्र रहेको विद्यालयका विद्यार्थीबीच कविता प्रतियोगिता भएको झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभयो । यस्तै गायन र नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी समेत भएको उहाँले बताउनुभयो । प्रतियोगिताको नतिजा भने महोत्सवको दोस्रो दिन शनिबार सार्वजनिक गरिने छ ।
यसैगरी दोस्रो दिन स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचना वाचन, पालिका अध्यक्षसँग अन्तरक्रिया तथा विशेष सांगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । महोत्सवमा वरिष्ठ साहित्यकार कपिल लामिछाने, बकैया–५ नम्बर वडाका अध्यक्ष लक्ष्मी जिम्बा, बकैया–६ नम्बर वडाका अध्यक्ष फूलमान भोम्जन लगायतको आतिथ्य रहेको थियो ।