हेटौँडा : बागमती प्रदेश क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर समूह चरणमा अपराजित रहँदै दोस्रो चरण अर्थात् सेमीफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मकवानपुरले चितवनलाई ८ रनले हराएको हो । यसअघि मकवानपुरले नुवाकोटलाई १४८ रनले र चितवनलाई नै उद्घाटन खेलमा ७१ रनले पराजित गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४३ ओभरमा सबै विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो । मकवानपुरका शुभ कंशाकारले सर्वाधिक १ सय १३ रन बनाउँदै चितवनविरुद्ध शतक प्रहार गरे । सक्षम बास्ताकोटी र गौरव खड्काले समान ३०/३० रन बनाएका थिए । असिम श्रेष्ठले १३ रन र टिम कप्तान सुमन सुनारले १२ रन बनाएका थिए । बलिङतर्फ चितवनका लागि गौतम केसीले सर्वाधिक ३ विकेट लिएका थिए । कृजन गुरुङ र संघर्ष पौड्यालले समान २/२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको चितवनले ४२ ओभर ४ बलमा २ सय २८ रन बनाउँदै अल आउट हुन पुगेको थियो । चितवनका लागि गौतम केसीले सर्वाधिक ४६ रन बनाएका थिए । प्रशान्त महतले ४२ रन बनाएका थिए । यस्तै, दीपेश श्रेष्ठले १४ रन, निकेश गुरुङले १२ रन र प्रतीक श्रेष्ठले पनि १२ रन बनाएका थिए । मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, अशीम श्रेष्ठ, साकार गजुरेल र विशाल फुयालले समान २/२ विकेट लिएका थिए । प्लेयर अफ द म्याच मकवानपुरका शुभ कंशाकार घोषित भएका छन् ।