निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा : हेटौँडाको नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिएको छ । शुक्रबार हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भलिबल कोर्टमा भएको प्रतियोगिताको उपाधिका लागि हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय र हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयबीच भिडन्त हुने भएको छ । महिला शिक्षकबीच पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रगति माविले चन्द्रोदय माविलाई २–१ को सोटले हराउँदै फाइनलमा प्रवेश गरेको हो भने ज्योति माविले कृष्ण आदर्श आधारभूत विद्यालयलाई २–१ को सेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल आज शनिबार हुनेछ । यस्तै, तेस्रो स्थानका लागि चन्द्रोदय मावि र कृष्ण आधारभूत विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ७ हजार, ५ हजार, ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हेटौँडा उपमहानगरका १० वटा विद्यालयको सहभागिता रहेको थियो । नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुईंटेलको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा शुक्रबार प्रतियोगिता उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा ४ नम्बरका वडाध्यक्ष नवीन सिग्देल, ११ नम्बरका वडाध्यक्ष जुना दहाल, १६ नम्बरका वडाध्यक्ष रामकृष्ण कोइरालाको पनि उपस्थिति रहेको थियो ।