मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत, सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवआगन्तुक प्रजिअ स्किम श्रेष्ठ ।

हेटौंडा : मकवानपुरकी नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्लामा कानुनसम्मत काम हुने बताउनुभएको छ । शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रजिअ श्रेष्ठले कानूनविपरित हुने कामलाई प्रशासनले निरुत्साहित गर्ने बताउनुभयो । व्यवसायीले जिम्मेवार भएर काम गर्नुपर्ने, कानूनसम्मत हुने काममा प्रशासनको सुरक्षा रहने प्रजिअ श्रेष्ठले स्पष्ट पार्नुभयो ।

निजी क्षेत्र सवल हुनुपर्नेमा राज्य स्पष्ट भएको र प्रशासनले आवश्यक समन्वय, सहकार्य गरेर काम गर्ने जानकारी दिनुभयो । बजार अनुगमन, राजश्व अनुगमनमा प्रशासनको ध्यान रहने उल्लेख गर्नुहुँदै प्रजिअ श्रेष्ठले जिल्लामा दुर्घटना र चोरीका घटना न्यूनीकरण गर्न, लागूऔषध नियन्त्रण गर्न प्रशासनले सरोकारवालासँगको सहकार्यमा काम गर्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघले सहायक प्रजिअ राजेन्द्रप्रसाद कँडेललाई पनि स्वागत गरेको छ । कार्यक्रममा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको सभाध्यक्षमा स्वागत कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, अरुण राज सुमार्गी, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको पनि उपस्थिति रहेको थियो ।