हेटौंडा : जिल्लास्तरीय शिक्षक फुटसल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मकवानपुरगढी गाउँपालिकास्थित भानु माविको फुटसल मैदानमा भएको प्रतियोगितामा सेमीफाइनल खेल्ने टिमको टुंगो लागेको हो ।
आज शनिबार सेमीफाइनल र फाइनल चरणका खेलहरु हुनेछन् । मकवानपुरगढी–३, स्थित भानु माध्यमिक विद्यालयको आयोजना तथा थर्डआई एजुकेशन सेन्टरको प्रायोजनमा भएको प्रतियोगिताको उद्घाटन एजुकेशन सेन्टरका सञ्चालक बेलुका खतिवडाले गर्नु भएको थियो ।
शनिबार हुने सेमीफाइनल खेलमा कमाने एकेडेमी र नवोदय शिशु सदनबीच प्रतिस्पर्धा हुनेछ भने भानु मावि र जेनिथ बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ । सेमीफाइनल चरणका खेलहरू शनिबार बिहान ८ बजे हुनेछन् ।
क्वार्टरफाइनल खेलमा भानु माविले भुटनदेवी माविलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो भने नवोदय शिशु सदनले ह्यान्डविच बोर्डिङ स्कूललाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै, बुद्ध मावि, हात्तीसुँडेलाई पराजित गर्दै जेनिथ सेकेन्डरी बोर्डिङ र बकैयाको कालीदेवी माविलाई पराजित गर्दै कमाने एकेडेमी सेमीफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका–३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षता रहेको थियो । प्रतियोगितामा मकवानपुर जिल्लाभित्रका १० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट रक्षकलाई पुरस्कार प्रदान गरिनेछ ।