राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रदान गरिँदै ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडा–२,स्थित सिद्धार्थ माध्यमिक विद्यालयले जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको उपाधि सिद्धार्थ माविले जितेको हो ।

नगर खेलकुद विकास समितिको आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा सिद्धार्थ माविले ८ स्वर्ण र ६ कास्य पदक प्राप्त गरेको छ । ८ वटा स्वर्ण र १ कास्यपदक प्राप्त गर्दै हेटौंडा–१० स्थित तुल्सीमेहर मेमोरियल स्कूल द्वितीय भएको छ । यस्तै, ६ स्वर्ण, ८ रजत र ७ कास्य पदक प्राप्त गरेको हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय तृतीय भएको छ ।

रनिङ्ग शिल्ड प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३८ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको संयोजक राजाराम पोखरेलले जानकारी दिनुभएको छ । प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसुलगायतका खेलहरु सञ्चालन भएको उहाँले बताउनुभयो । भलिबलतर्फको खेलमा महिलाको ८ वटा टिम र पुरुषको १० टिमको सहभागिता रहेको भलिबलका संयोजक नरेन्द्र मुक्तानले बताउनुभयो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको अध्यक्षता तथा नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका प्रमुख कृष्णप्रसाद घिमिर, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत हरिचन्द्र सापकोटा, आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईं, नगर खेलकुदका सदस्य विजय गौतम लगायतको उपस्थिति रहेको थियो ।