आज मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस । ‘विश्वका मजदुर एक हौं’ भन्ने नाराका विश्वभर आज मे दिवस अर्थात् मजदुर (श्रमिक) दिवस मनाइँदैछ । करिब एकसय ३० वर्ष अघिदेखि विश्वभर मजदुर दिवस मनाउन थालिएको हो । नेपालमा पनि राष्ट्रिय दिवसको रुपमा मजदुर दिवस मनाउन थालेको दशकौं भइसकेको छ । विश्वमा औद्योगिक क्रान्तिसँगै उद्योग कलकारखानाको विकास तिब्र बन्यो । औद्योगिक विकासको क्रम बढ्दै जाँदा मजदुर र मालिकबीचको विभेद पनि बढ्न थाल्यो । मजदुरहरुमाथि आर्थिक शोषण हुन थाल्यो । उद्योग, कलकारखानाका मालिक धनी बन्दै जाने र मजदुरलाई दुईछाक खान पनि धौधौ पर्ने अवस्था बनेपछि सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा मजदुर आन्दोलन सुरु भयो । मालिक र मजदुरबीचको असमानता हटाउने उद्देश्यले कामको निश्चित समय र उचित पारिश्रमिकको माग गर्दै सुरु भएको मजदुर आन्दोलन चर्कंदै गयो । आन्दोलनरत मजदुरसँग मालिक झुक्न बाध्य बने र मे १ तारिखका दिन मजदुरको मागको सम्बोधन भयो । यसैको खुशीयालीमा सन् १८९० देखि प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर श्रमिक मजदुर दिवस मनाउन थालियो ।
मजदुरकै मिहिनेत, परिश्रम र लगनशीलताले मालिक धनी बन्ने हो । मजदुरलाई जति धेरै सुविधा दिएर प्रोत्साहित गर्यो, त्यति उत्पादकत्व बढ्ने कुरालाई मालिकहरुले बुझ्न थाले । मजदुर आन्दोलनले सार्थकता पाएको दिनलाई श्रमिक मजदुरहरुले एउटा उत्सवको रुपमा लिए । श्रमिक मजदुरको हकहित रक्षाका लागि वर्षमा एकदिन भए पनि सबै मजदुर एकआपसमा मिलेर श्रमिक मजदुर दिवस मनाउन थाले । नेपालमा भने राजनीतिक आस्थाका आधारमा मजदुरहरु विभाजित बनेका छन् । राजनीतिक दलहरुले मजदुरहरुलाई आफ्नो दलीय राजनीतिमा आवद्ध गराए । राजनीतिक दलको भातृ संगठनको रुपमा मजदुर संगठनहरु खुले । एउटा औद्योगिक प्रतिष्ठानका मजदुरहरुसमेत अनेकौं संगठनमा विभाजित बने । अन्य समयमा मात्र नभई मजदुर दिवसका दिनसमेत मजदुर संगठनहरु विभाजित भएर मजदुर दिवस मनाउँदै आएका छन् । विश्वका मजदुर एक हौं भन्ने नारालाई मूल मन्त्र बनाएका मजदुर संगठनहरु विभाजित बन्दा उनीहरुको जायज र माग ओझेलमा पर्ने गरेको छ ।
नेपालमा राणा शासनको उत्तराद्र्धमा कलकारखानाको विकास सुरु भएको थियो । ठूला कलकारखाना खुल्न थालेपछि त्यहाँ काम गर्ने हजारौं मजदुरले आफ्ना हक, अधिकारका लागि माग राख्नु स्वभाविक हो । वि.सं. २००४ सालमा विराटनगर जुट मिलका मजदुरहरुले आफ्ना मागहरु राखेर औपचारिकरुपमा मजदुर आन्दोलन चलाएका थिए । त्यही मजदुर आन्दोलनले राणा शासनविरुद्धको क्रान्तिलाई मलजल गर्यो । २००७ सालको क्रान्तिपछि राणा शासन अन्त्य भयो । राजनीतिक परिवर्तनसँगै मजदुरका कतिपय मागहरु सम्बोधन भए । पञ्चायती व्यवस्था सुरु भएपछि फेरि मजदुरहरु बढी शोषित र पीडित बने । यसैकारण सन् १९६३ (वि.सं २०२०)देखि नेपालमा पनि मजदुर दिवस मनाउन थालियो । मजदुर दिवसका दिन पहिला श्रमिक मजदुरलाई मात्र विदा दिने गरिएकोमा वि. सं २०६४ सालदेखि यसदिन देशभर सार्वजनिक विदा दिने गरिएको छ ।
मालिक र मजदुर भनेका एउटा सिक्काका दुई पाटाजस्तै हुन् । मजदुरबिना मालिक र मालिकबिना मजदुरको अस्तित्व रहँदैन । मजदुर र मालिकबीच सुमधुर सम्बन्धबाट नै दुबैको हित हुने र औद्योगिक विकास तिब्र हुने निश्चित छ । मालिकले मजदुरलाई बढीभन्दा बढी सुविधा दिने र मजदुरले पनि लगनशील भएर काम गरेमा दुबैको हित हुन्छ । यसका लागि मजदुरहरु एक हुनु आवश्यक छ । आपसमा फुटेर होइन, जुटेर मजदुर एकता सम्भव हुन्छ । सम्पूर्ण मजदुर एक भएर आफ्ना जायज मागका लागि संघर्ष गरेमा उनीहरुको माग सम्बोधन हुने सम्भावना रहन्छ । मालिकबाट उचित सुविधा तथा जायज अधिकार प्राप्त गर्न र राज्यबाट उपयुक्त नीति, नियम लागू गराउन मजदुर एकता अपरिहार्य देखिन्छ ।