हेटौंडाः सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर जिल्ला समितिको छैठौं अधिवेशनबाट दोस्रो कार्यकालका लागि साधुराम चौलागाई सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार भएको अधिवेशनले उपाध्यक्षमा ठूलीमाया मोक्तान, सचिवमा निर्मला न्यौपाने, कोषाध्यक्षमा बलराम अधिकारीसहित २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यमा भएको अधिवेशनको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सचिवालय समिति सदस्य शान्ता न्यौपाने, बागमती प्रदेश अध्यक्ष विनोद सापकोटाको पनि आतिथ्य रहेको थियो । अधिवेशनको अवसरमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित महासंघकी अध्यक्ष भारती पाठकलाई सम्मान गरेको छ । हस्तकलासम्बन्धी तालिममा सहयोग गर्ने हेटौंडा उपमहानगरपालिकाको पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूह, आयआर्जनका लागि वन क्षेत्रमा सामूहिक बेसार खेती गर्ने मकवानपुरगढी गाउँपालिकाको बुङदल सामुदायिक वन उपभोक्ता समूह, जडिबुटी खेती गर्ने मनहरी गाउँपालिकाको पशुपति सामुदायिक वन उपभोक्ता समूहलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ ।
यस्तै गत चैत ८ र ९ गते हेटौंडामा महासंघको केन्द्रीय समिति बैठकका लागि सबैभन्दा बढी आर्थिक सहयोग गर्ने हेटौंडा–१८ स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समिति र महासंघको उत्कृष्ट स्थानीय तहको रुपमा मकवानपुरगढी गाउँपालिका समितिलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । महासंघले निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पञ्चमाया स्याङ्तान, समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, साझा कुरा दैनिकका संवाददाता भीमसेन पौडेललाई पनि सम्मान गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्नुहुँदै महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक संस्थाहरु सवल हुनुपर्ने बताउनुभयो । उहाँले तीन तहको सरकारलाई राजश्व तिर्नुपर्ने बाध्यताबाट सामुदायिक वन समूहहरु पीडित हुनुपरेको गुनासो गर्नुभयो । मध्यवर्ती र निकुञ्ज आसपासका समुदायले भोग्नु परेका समस्या र वन्यजन्तुको आक्रमणको विषयमा पनि सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघले पालिका हुँदै जिल्ला अधिवेशन सकाएसँगै प्रदेश र राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका छ ।











