अनलाईन प्रविधि पछिल्लो समय मुलधारको सूचनाको माध्यम बन्दै गएको छ । विश्व नै कोरोनाबाट आक्रान्त भएको समयमा सबै क्षेत्र ठप्प छ । नेपालमा पनि लामो समयदेखि बन्दाबन्दी हुँदा सामाजिक गतिविधि पुरै अवरुद्ध छ । नागरिकले आफ्नो दैनिक जीवन धान्न आवश्यक पर्ने खाद्यान्न खरिद गर्ने बाहेकका काम रोकिएको अवस्था छ । घरायसी कामकाजदेखि विदेशी सूचनासम्म पनि सबै नागरिकले यतिबेला अनलाईनकै माध्यमबाट लिईरहेका छन् ।

घरायसी सामान बिक्री गर्ने पसलहरुले पनि अनलाईन सेवा दिएका छन् भने आफन्तजनसँगको सम्पर्कसूत्र नै अनलाइनका माध्यम भएका छन् । सामाजिक सञ्जाल यतिबेला पारिवारिक मिलनको ठूलो माध्यम हो । दुरुपयोगको आरोप लाग्ने गरेको अनलाईन/सामाजिक सञ्जाल यतिबेला नागरिकको सबैभन्दा नजिकको सहयोगी भएको छ । परिस्थिति र आवश्यकताले अनलाईन सबैभन्दा लोकप्रिय बन्दै गएको छ । कोरोनाले विश्वलाई नै नियन्त्रणमा लिईरहेको समयमा सामाजिक सञ्जाल पछिल्लो समय मुलधारको सूचनाको माध्यम बन्दै गएको हो ।

व्यक्तिगत वा घरायसी उपयोग मात्र नभई अब कार्यालयमा पनि अनलाईन माध्यमकै प्रयोग हुन थालेको छ । डेढ महिनादेखि ठप्प भएका शैक्षिक गतिविधिहरु अब अनलाईनबाट सन्चालन हुन थालेका छन् । यसको नकारात्मक पक्ष पनि होलान् तर उपयोग बढ्दै गएको छ । सबैको पहुँचमा पुग्न बाँकी भए पनि अनिवार्य आवश्यकता जस्तै बनेको छ । नयाँ प्रविधिको प्रयोग सुरुमै सबैको पहुँचमा हुँदैनन् । रेडियो, टिभी वा पत्रपत्रिकाहरु पनि सुरुवाती चरणमा सबै नागरिकले सहजै उपयोग गर्न सक्ने अवस्था थिएन । त्यसै भनेर प्रयोग नै नगरएको भए आजको अवस्थामा समाज कसरी आइपुग्ने थियो ? त्यसैले पहुँचको क्षेत्र विस्तारका उपायको खोजी गर्नु पर्दछ तर प्रविधिको उपयोग स्वतन्त्रपूर्वक हुनु पर्दछ ।

यो माध्यमलाई दुरुपयोग बाट जोगाउनु महत्वपूर्ण चुनौती हो । हेटौंडाकै केही विद्यालय तथा क्याम्पसहरुले अनलाईन कक्षा नै सन्चालन गरेर विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । यस्तै कतिपय विद्यालयहरुले परिक्षाको नतिजा समेत अनलाईनबाट सार्वजनिक गरेका छन् । विद्यालय बन्द भएका र कोरोना संक्रमण रोक्नका लागि विद्यालयमा अभिभावक वा विद्यार्थीलाई भेला गराउन सम्भव नहुँदा अनलाईन माध्यमको प्रयोग नै सबैभन्दा उत्तम बनेको छ ।

वार्षिक परीक्षा सकिँदा नसकिँदै सुरु भएको लकडाउनका कारण नतिजा प्रकाशनमा विद्यालयहरुले डिजिटल प्रविधि रोज्न थालेका छन् । मकवानपुरका अधिकांश विद्यालयहरूले अहिले सामाजिक सञ्जालका माध्यमबाट वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिरहेका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नतीजा प्रकाशन गर्न भनेसँगै विद्यालयहरुले नतिजा प्रकाशन सुरु गरेका हुन् । विशेषगरी हेटौंडा नगरभित्रका सबै विद्यालयहरुले परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् । संस्थागतदेखि सामुदायिक विद्यालयहरुले पनि सामाजिक सञ्जालको प्रयोग गरेको पाईन्छ । यस्तै नगरस्तरीय परीक्षाको नतिजा पनि सार्वजनिक भएका छन् । सम्पूर्ण विवरण दिन नसक्ने विद्यालयहरुले नतिजा सार्वजनिक भएको जनाउँ दिई सम्बन्धित शिक्षकसँग सम्पर्क गर्नका लागि भनिएको छ ।

कतिपय विद्यालयहरुले विद्यालयकै फेसबुक पेज बनाएका छन् भने कतिले वेभसाईड नै बनाएर आफ्ना गतिविधि सार्वजनिक गरेको पाईएको छ । आवश्यकता नै आविष्कारको जननी भनिए जस्तै कोरोना र लकडाउनले विद्यालयहरुमा अनलाईनको प्रयोग व्यापक भएको छ । जुन प्रविधिको उपयोगमा सकारात्मक मान्नु पर्दछ ।